मनाङले अन्तिम खेल जित्नै पर्ने



नेपाल समाचारपत्र
काठमाडौं
मनाङ–मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा हारेपछि अन्तिम खेल जित्नै पर्ने समीकरण बनेको छ।
चितगोङस्थित मोहम्मद अजिज रंगशालामा बुधबार भएको खेलमा मनाङ अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ गोलअन्तरले पराजित भएको हो। जसमा मनाङलाई हार आत्मसात गराउन विपक्षी टोलीका कप्तान एक्लै पर्याप्त बनेका थिए। शाहिनका कप्तान अमिरुद्दिन शरीफीले तीनै गोल गरेर ह्याट्रिक गरेका थिए। मनाङका विमल बस्नेतले एक गोल फर्काएका थिए।

अमिरुद्दिनले ३८औं मिनेटमा मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए। यो पहिलो हाफमा एक मात्र गोल थियो। दोस्रो हाफमा मनाङका लागि खेलमा फर्कने सम्भावना थियो। तर ६५औं मिनेटमा पुनः गोल आत्मसात गरेपछि नेपाली टोलीको सेमिफाइनल पुग्ने आशा तुहियो।

विराज महर्जनको स्थानमा ७०औं मिनेटमा मैदानमा आएका विमलले तीन मिनेटपछि नै गोल गरे। उनको गोलले मनाङ गोलअन्तरलाई २–१ मा खुम्च्याउन सफल भयो। तर त्यसको तीन मिनेटपछि नै ७६औं मिनेटमा अमिरुद्दिनले पेनाल्टी गोलमार्फत् आफ्नो ह्याट्रिक पूरा गर्नुका साथै टोलीको जित पक्का गरे। बंगलादेशका रेफ्री मिजनुर रहमानले मनाङका डिफेन्डर सिसिकोले ह्याण्ड बलमा पेनाल्टी दिएका थिए।

पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको मनाङका लागि यो हारले सेमिफाइनल पुग्न अन्तिम खेलमा जित दर्ता गर्नै पर्ने भएको छ। मनाङको दुई खेलबाट ३ अंक रहेको छ। समूह ‘बीमा रहेको मनाङले समूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ स्पोर्टिङ क्लबसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। यो समूहमा चितगोङले हारेको छैन।

प्रतिक्रिया दिनुहोस्