म्यानचेस्टर सिटीको सनसनी जित



लन्डन, (एजेन्सी)
ानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा सनसनी जित हात पारेको छ।

प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले फ्रान्सेली टोली मोनाकोलाई ५–३ गोलले पराजित गरेको हो। दुई पटकसम्म खेलमा पछि परेको स्थितिलाई उल्टइउँदै इंग्लिस टोली म्यानचेस्टर सिटीले अन्ततः जित हासिल गर्यो। खेलको २६औं मिनेटमै रहिम स्टिर्लिङको गोलबाट अग्रता बनाएको सिटीले पहिलो हाफमा दुई गोल बेहोर्यो। रामेडेल फाल्काओले ३२औं र मबाप्पे लोट्टीनले ४०औं मिनेटमा मोनाकोका लागि गोल गरेका थिए। पहिलो हाफसम्म भ्रमणकारी टोली २–१ को अग्रतामा रहेको थियो।

यस्तै ५०औं मिनेटमा फाल्काओलाई सिटीका खेलाडीले डि एरियामा लडाएपछि मोनाकोले पेनाल्टीको अवसर पायो। तर फाल्काओको पेनाल्टीलाई सिटीका गोलरक्षक विली कावायरोले बचाउ गरेपछि मोनाकोले तेस्रो गोल गर्ने मौका गुमायो। ५८औं मिनेटमा सिटीका सर्जियो एग्युरोले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याए।

तर फाल्काओले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीमाथि दबाब सिर्जना भयो। यस्तै ७१औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पुनः खेलमा अग्रता लियो। त्यसयता ७७औं मिनेटमा जोन स्टोन्स र ८२औं मिनेटमा लोरी सेनले गोल गर्दै सिटीको जित सुनिश्चित पारे।

घरेलु मैदानमा निकालेको महत्त्वपूर्ण जितका बाबजुद सिटीको झैं मोनाको पनि क्वाटरफाइनल प्रवेशको सम्भावना भएको छ। मोनाकोले तीन अवे गोलको फाइदा लिन सकिने स्थिति पनि छ। यदि मोनाकोमा हुने दोस्रो लेगमा सिटी २–० गोलअन्तरले पराजित भएमा सिटीका लागि अन्तिम आठ सम्भव हुनेछैन। यदि बराबरी वा जित हात पारेमा भने सिटीले क्वाटरफाइनलको यात्रा तय हुनेछ।
यस्तै अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मेड्रिडले जर्मन क्लब बार्यन लिभरकुसेनलाई उसकै मैदानमा ४–२ गोलले पराजित गर्यो। एथ्लेटिकोको जितमा सउल निगे, एन्टोइन ग्रिजमान, केभिन ग्यामेहु र फर्नान्डो टोरेसले गोल गरेका थिए। यता लिभरकुसेनका लागि करिम बेलाराभी गोल गर्दा एथ्लेटिकोको स्टेफान साभिचले आत्मघाती गोलको उपहार दिएका थिए। चार अवे गोल गरेको स्पेनीस ला लिगा टिमको क्वाटरफाइनल लगभग तय भएको छ।

प्रतिक्रिया दिनुहोस्