कस्तो पारा ?



स्थानीय निर्वाचनको तिथि घोषणा भएपछि अहिले पक्ष र विपक्षमा कुरा उठिरहेको धरहराले देखेको छ। पक्षमा हुनु त ठीकै हो, विपक्षमा जानुपर्ने कारणचाहिँ के होला भनेर धरहरा वरपर कसैले बुझेको पाइएको छैन। जनताले बुझेअनुसार न निर्वाचनको पक्षमा हुने दूधले धोएका छन् न त विपक्षमा हुने नै। तर पनि जनताले अभिमत प्रकट गर्ने कुरालाई पनि लोकतान्त्रिक भनिएका दलहरूले विरोध गर्न मिल्ला र?

नमिल्नुपर्ने हो तर भइरहेको छ। सबै दल उम्मेदवार छनोटतिर लाग्नुपर्नेमा फेरि टायर बालेर धुवाँ निकालेर प्रदूषण फैलाउने काम किन गरिएको होला? मधेसी दलले त अझ देखाइदिए हुन्छ नि सबैलाई डाँडा कटाउने गरी जनमत बटुलेर। त्यो अवस्था आयो भने आफूले उठाएका मागको विरोध गर्नेले पनि देख्ने थिए। तर, त्यतातिर ध्यान नदिई आफूलाई अप्ठेरो पर्यो कि तराई झरेर जनतालाई दुःख दिनु त भएन नि होऊ।

अहिले मधेसका नेता भनिएका महानुभावहरू पनि मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म पनि पुगेकै हुन्। त्यतिबेला महानुभावहरूले के गर्नुभयो त आफ्नो क्षेत्रको विकासका लागि? उतिबेला समानुपातिकका तर्फबाट सांसदको कोटा पाउँदा महामहिमहरूले आफ्नै पत्नी, प्रेमिका, साली, सम्धिनी त्यस्तैलाई चान्स दिनुभएको देखिएकै हो। अहिले राजधानीले मनपरी गर्न नदिएपछि तराई झरेर स्थानीय जनतालाई दुःख दिँदै टायर बाल्ने? के हो यो तरिका? तानाशाही पारा भएन भन्या यो त। पाठकवृन्दको यसमा के विचार छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्