एमनेस्टी इन्टरनेसनलद्वारा प्रतिवेदन सार्वजनिक ट्रम्पलगायत विश्वका नेताहरू विभाजनकारी भएको आरोप



वासिङ्टन, (एजेन्सी)
मानव अधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेसनलले आफ्नो वार्षिक प्रतिवेदन जारी गरेको छ। प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विभाजन ल्याउने र अमानवीय भाषण दिने नेता भएको उल्लेख गर्दै उनले विभाजित तथा खतरनाक विश्व बनाइरहेको जनाएको छ।

एमनेस्टीको वार्षिक प्रतिवेदनमा राष्ट्रपति ट्रम्पलाई आलोचित तथा अत्यन्त भेदभाव राजनीति गर्ने नेता भएको बताइएको छ। प्रतिवेदनले टर्की, हंगेरी र फिलिपिन्सका नेताहरूको पनि आलोचना गरिएको छ। उनीहरूमाथि पनि भय, आरोपप्रत्यारोप र विभाजनलाई बढाउने खालको भाषण दिएको आरोप लगाइएको छ। संगठनले केही देशका सरकारले राजनीतिक फाइदाका लागि शरणार्थीलाई प्रयोग गरिरहेको पनि उल्लेख गरेको छ।

एमनेस्टीको यस प्रतिवेदनमा १ सय ५९ देशको उल्लेख गर्दै अमेरिका र युरोपमा शरणार्थीलाई निसाना बनाएर घृणा फैलाउने कार्य बढिरहेको जनाइएको छ। यसलाई जाति, लिंग, राष्ट्रियता र धर्मको नाममा हुने आक्रमणमा आएको वृद्धिका रुपमा हेर्न सकिने प्रतिवेदनले जनाएको छ।

ती देशहरूको आलोचना गर्दै उनीहरू विश्वमा आफूलाई मानव अधिकारका समर्थक भएको बताउने तर आफ्नै देशमा त्यसलाई खोस्न काम गरिरहेको प्रतिवेदनले जनाएको छ। एमनेस्टी इन्टरनेसलका सचिव सलिल सेट्टीले भने– ‘नागरिकहरूको अधिकारका लागि लड्ने ठाउँ धेरैजसो नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि अमानवीय एजेन्डाका रुपमा लिएका छन्।

संगठनले प्रतिवेदनमा गत महिनामा ट्रम्पले सात मुस्लिम बाहुल्य मुलुकका नागरिक तथा शरणार्थीलाई अमेरिका आउन रोक लगाउन दिएको कार्यकारी आदेशको पनि विशेष उल्लेख गरेको छ। एमनेस्टीले प्रतिवेदनमा ३६ देशले शरणार्थीलाई उनीहरूका लागि जोखिम हुने देशमा फिर्ता पठाएर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उल्लेख गरेको छ।

एमनेस्टीको उक्त प्रतिवेदनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे, टर्कीका राष्ट्रपति रिसेप टयैप अर्डोगान र हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले तथानाम बोल्ने गरिरहेको जनाएको छ। प्रतिवेदनले भारतमा अभिव्यक्तिको स्वतन्त्रता र सरकारी नीतिहरूको पनि आलोचनालाई रोक्ने र दमनकारी कानुनको प्रयोग भइरहेको आरोप लगाएको छ। भारतले काश्मिरमा प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरिरहेको र नागरिक स्वतन्त्रताको हनन गरिरहेको प्रतिवेदनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्