अख्तियारमा गोरखाको ८० उजुरी



नेपाल समाचारपत्र
गोरखा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले विभिन्न शीर्षकमा गोरखाबाट समग्र उजुरीको २ प्रतिशत उजुरी परेको जनाएको छ। मंगलबार अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय पोखराले गोरखामा आयोजना गरेको अख्तियार दुरुपयोग नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो।

अख्तियारको पोखराको कार्यालयमा क्षेत्रभरि ३हजार ९ सय १६ वटा उजुरी परेको कार्यालयका उपसचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिए। ‘पोखराको कार्यालयमा अहिलेसम्म ३ हजार ९ सय १६ वटा उजुरी दर्ता भएका छन्, रेग्मीले भने– ‘त्यसमध्ये गोरखाबाट यसको २ प्रतिशत अर्थात् करिब ८० वटा उजुरी परेको छ। पद दुरुपयोग गरेको, शैक्षित्र छात्रवृत्तिमा भ्रष्टाचार गरेको, सार्वजनिक सेवामा घूसखोरी भएको, नक्कली बिल बनाएको, कर छल गर्ने गरेको, विभिन्न सरकारी कार्यालयहरूको सेवाका क्रममा भ्रष्टाचार हुने गरेको जस्ता उजुरी गोरखाबाट अख्तियारमा परेको बताइएको छ।

त्यस्तै जिल्लाको दुर्गम भेगमा औषधि समयमा नपुगेको, पुगेका औषधिहरू पनि म्याद नाघेका पुग्ने गरेकोलगायतको विभिन्न विषयगत कार्यालयको सेवा प्रवाह र सेवा लिँदा भोगेका समस्याको बारेमा उजुरी आएको कार्यालयले जनाएको छ। पश्चिमाञ्चलमा अख्तियारको कार्यालयमा कम उजुरी पर्ने जिल्लामध्ये गोरखा पनि परेको छ। समग्र उजुरीको २१ प्रतिशत कास्कीबाट परेको छ।

रूपन्देही १९, नवलपरासी १४, कपिलवस्तुबाट ११, तनहुँबाट ५, पर्वतबाट ४, अर्घाखाँचीबाट ५, लम्जुङबाट ३, म्याग्दीबाट ३, स्याङ्जाबाट ४, पाल्पाबाट ३, वाग्लुङबाट ४, गुल्मीबाट २, गोरखाबाट पनि २, मनाङबाट १ र मुस्ताङबाट २ प्रतिशत उजुरी परेको रेग्मीले जानकारी दिए। क्षेत्रभरि आएको उजुरीमध्ये ३ हजार १ सय ४२ वटा मुद्दा फस्र्योट भइसकेको रेग्मीले बताए। ७ सय ७४ वटा उजुरी भने कोही विचाराधीन र कोही हेर्नै बाँकी रहेको मुद्दाहरू छन्।

प्रतिक्रिया दिनुहोस्