डोटीमा पानीका मुहान सुक्दै



नेपाल समाचारपत्र
डोटी
जलवायु परिर्वतनले डोटीमा पछिल्लो समय पानीका मुहान सुक्न थालेका छन्। पानीका मुहान सुक्न थालेपछि डोटीबासी घण्टौं टाढाको दूरीबाट पानी बोकेर ल्याउन बाध्य भएका छन्। खानेपानीका मुहान सुकेपछि गाउँबाट निकै टाढा पानी लिन जानुपरेको र रातिको समयमा टाढाको कुवामा पानी लिन जाँदा भालुले आक्रमण गर्ने गरेको डोटीको दिपायल सिलगढी नगरपालिका–६ बझगाउँकी स्थानीय महिला कौलिला भण्डारीले बताउनुभयो।

यति मात्र नभई गाउँनजिकैको धारा, कुवामा पानी बन्द भएपछि अहिले सो क्षेत्रका महिलालाई निकै समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। त्यस्तै मौसम परिवर्तनले पानीका मुहान सुकेपछि गाउँमा निकै समस्या उत्पन्न भएको अर्का स्थानीय रामबहादुर भण्डारीले बताउनुभयो। खानेपानीले वितरण गरेको धारामा ३ दिनमा एकपटक मात्र पानी आउने भएकाले सो क्षेत्रका स्थानीयले पानी सञ्चित गर्न थालेको उहाँको भनाइ छ।

त्यस्तै नवदुर्गा गाविस–९ का नरबहादुर हमालले बिहानै तथा रातिको समयमा गए अलिकति मात्र पानी पाइने गरेको र पानीका लागि लाइन बस्नुपर्ने अवस्था आएको बताउनुभयो। गाउँमा भएको पानीको नौला कुवा सुकेपछि दुई किलोमिटर टाढाबाट पानी लिनुपर्ने अवस्था आएको र चैत वैशाकमा पानी पूरै सुक्ने गरेको उहाँले बताउनुभयो। उता खानेपानी तथा क्षेत्रीय अनुगमन सुपरीवेक्षण कार्यालय राजपुरका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले खानेपानीको मुहान सुकेको भन्दै कार्यालय पानीको व्यवस्था मिलाउनका लागि स्थानीय आउने गरेको बताउनुभयो। पानीको मुहानको क्षमताको कमी, अनियन्त्रित भौतिक संरचना निर्माण, जथाभावी सडक काटिँदा डोजरको भाइब्रेटरले मूलहरू तलमाथि सर्न सक्ने लामिछानेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्