यसरी बन्दै छ नयाँ धरहरा



ईश्वरराज ढकाल

रातत्त्व विभागले अबको १० दिनभित्र धरहराको ड्रइङ तथा डिजाइनसहितको सम्पूर्ण प्राविधिक विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाउने भएको छ। राष्ट्रको गौरवको विषय रहेको धरहरा पुनर्निर्माण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरेको हो। विभागले मंगलबार स्ट्रक्चरल इन्जिनियरसँग अन्तिम छलफल गरेको थियो। छलफलका क्रममा पुनः एकपटक माटो परीक्षण र तरलता अनुसन्धान गर्ने भएको छ।

‘धरहराको विषयमा सम्पूर्ण अध्ययन गरिसकेका छौं, एकपटक तरलता परीक्षण गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाउनेछौं, विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले बताउनुभयो– ‘सबै प्राविधिक पक्षको अध्ययन सम्पन्न गरिसकेर स्ट्रक्चरका बारेमा अध्ययन गरेका छौं।


यस सम्बन्धमा विभागले नाम चलेका इन्जिनियरसँग छलफल गरेको थियो। वैदेशिक हुलाक विभागको साढे ११ र टक्सार विभागको पनि साढे ११ रोपनीसहित धरहराले चर्चेको ७ रोपनीसहित २३ रोपनीमा नयाँ धरहरा निर्माण हुनेछ। २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भएको धरहराको ठुटो भने त्यही स्थानमा संरक्षण गरेर राखिने भएको छ।

करिब ३ अर्ब रुपियाँ लागतमा निर्माण गरिन लागिएको नयाँ धरहरा अत्याधुनिक निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरिनेछ। स्वरूप नबिग्रिने गरी फलाम र सिमेन्ट प्रयोग गरेर धरहरा निर्माण गर्न लागिएको हो। १० दिनभित्र पूर्ण विवरण आएपछि प्राधिकरणमा पेस गर्ने र प्राधिकरणले पुनर्निर्माणको काम शुरू गर्ने भएको छ।

‘म बनाउँछु मेरो धरहरा भन्ने ओली सरकारको नारालाई अहिलेको सरकारले ग्रहण गर्दै सार्वजनिक रूपमै बैंकमार्फत् धरहरा पुनर्निर्माण गर्न जनतालाई अपिल गरेको छ। प्राधिकरणले सञ्चारमाध्यममा विज्ञापन गरेरै रकम संकलन गर्न थालेको छ।
चढ्ने र ओर्लने दुईवटा लिफ्टसहित ११ तले नयाँ धरहरा बनाउन लागिएको हो।

नयाँ धरहराको उचाइ २ सय ४५ फिट हुनेछ। केज एन्ड एमआरबीले ७७ लाख ८४ हजार रुपियाँ लागतमा सम्पूर्ण ड्रइङ, डिजाइन र लगत इस्टमेट तयार गरेको थियो। नयाँ डिजाइनमा हुलाक कार्यालयको आकाशे पुलबाटै धरहराको क्षेत्र शुरू हुनेछ। अत्याधुनिक धरहरा परिसरमा लबी, रेस्टुरेन्ट, थिएटर, सार्वजनिक शौचालय, फाउन्टेन, करिब २ सय ७५ सवारीसाधन पार्किङस्थल र दुईतले संग्रहालय निर्माण हुनेछ।

प्रकोप व्यवस्थापन गर्न धरहरा परिसरभित्रै खुला क्षेत्र हुनेछ। अहिलेको जमिनको सतहभन्दा तलमाथि नगईकन धरहरा बनाइनेछ। भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन्। अपांग र वृद्धवृद्धाका लागि डबल लिफ्ट निर्माण हुनेछ। बाहिरबाट हेर्दा पहिला जस्तो छ त्यस्तै बनाइनेछ, डिजाइनमा कुनै परिवर्तन गरिने छैन।

विभागका महानिर्देशक भेषनारायण दाहालले लिफ्टको व्यवस्था गरे पनि यसको स्वरूपमा परिवर्तन नगरिने बताउनुभयो। मन्त्रिपरिषद्को गत असार ३१ गते बसेको बैठकले टक्सार र हुलाकको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।
सोहीअन्तर्गत विभागले आफ्नो प्रक्रिया अघि बढाएको विभागका सिनियर डिभिजन इन्जिनियर घिमिरेले बताउनुभयो। गएको फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतीकका रूपमा रहेको धरहरा पुनर्निर्माण जनताको रकमबाट हुने घोषणा गर्दै ‘मेरो धरहरा म बनाउँछु अभियानको शुभारम्भ गर्नुभएको थियो।

अभियान थालेको करिब ५ महिनापछि नयाँ धरहरा निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो। प्रधानमन्त्रीको घोषणालगत्तै गैरआवासीय नेपाली संघ (एनआरएन) ले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको थियो। देशका पहिलो प्रधानमन्त्री भीमसेन थापाद्वारा विसं १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गरिएको धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो। शुरूमा ११ तले धरहराको निर्माण गरेका थिए। विसं १९९० सालको भूकम्पमा भत्किएको धरहरा जुद्धशमशेरले एक वर्ष लगाएर पुनर्निर्माण गरी ९ तलाको बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्