कोमल, रेखा र मीरा राप्रपाको केन्द्रीय सदस्य



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा उम्मेदवारी दिएका सबै कलाकार विजयी भएका छन्। राजधानीमा सम्पन्न राप्रपाको एकता महाधिवेशनले कलाकार कोमल वली, रेखा थापा र मीरा राणालाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ। केही महिना अघि मात्र राप्रपामा प्रवेश गरेकी गायिका वली खुलातर्फ सर्वाधिक धेरै मत प्राप्त गर्नेमा तेस्रो नम्बरमा परेकी थिइन्। उनले १ हजार ८ सय ५७ मत प्राप्त गरेकी थिइन्। खुलातर्फबाट ४० जना सदस्य छानिएको थियो। खुलामा ७ सय ६४ मत ल्याउने समेत विजयी भएका थिए।

महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी नायिका रेखा थापाले सर्वाधिक दोस्रो मत ल्याई विजयी भइन्। उनले १ हजार ६ सय ३ मत ल्याएकी थिइन्। महिलातर्फ १६ जना केन्द्रीय सदस्य छानिएको थियो। महिलातर्फ तेस्रो नम्बरमा ख्यातिप्राप्त गायिका मीरा राणा विजयी भएकी छिन्। उनले १ हजार ४ सय ५२ मत प्राप्त गरेकी थिइन्। उनी यसअघि पार्टीको सहमहामन्त्री थिइन्। महिलातर्फ सबैभन्दा कम ६ सय ७३ मत प्राप्त गर्नेसम्म विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्