जापानबाट नेपाल आमालाई पत्र



(भुवन रोका) नेपाल आमा नमस्कार
आराम छु र आरामको कामना गर्दछु।
जापान आएको पनि ५ वर्ष नाघेछ। यसबीचमा छुस्स एकपल्ट मुहार देखाउन फर्केको थिएँ तर परिचित सबै माटोलाई छुन सकिएन। त्यसैले मलाई त म जन्मिएको पहाड, हरेक दिन बिहानी घामसँगै खुल्ने उत्तरका हिमाल (जसलाई म परैबाट भए पनि हात हल्लाएर आफूलाई परिचित गराउथेँ), अध्ययन गरेको तराईको ठाउँ अनि उच्च शिक्षासँगै अवसरहरूको खोजीमा भौंतारिएको काठमाडौं शहरले बिर्सिसक्यो होला।

म आज पनि जापानका ट्रेनमा यात्रा गर्ने क्रममा धेरैपल्ट झुक्किएको छु। त्यति बेला गाउँको आँगनमा आमाले ताते गर्दै डोर्याएको सम्झिन्छु, सिंगो गाउँ सम्झिन्छु। अझै पनि चपस्टिकले खानेकुरा राम्रोसँग च्याप्न नजान्दा सम्झिन्छु– घरै माथिको लटरम्म सुन्तला फल्ने राई गाउँ अनि सम्झिन्छु म सुन्तला ताछ्न नजान्दा सुन्तलाको बोक्रा फालेर आफ्नै हातले खुवाउने मित आमा। यहाँको भाषा सिक्ने र बोल्ने क्रममा तराईमा मैथिली भाषा सिकेको याद आउँछ, सिंगो तराईलाई सम्झिन्छु। यहाँ पनि अवसरको खोजीमा भौंतारिँदै गर्दा काठमाडौलाई सम्झिन्छु। फुजिसानलाई नियालिरहँदा सगरमाथा सम्झन्छु, सिंगो हिमशृङ्खला सम्झन्छु। बुद्धका मूर्तिहरू यहाँ पनि छन्, जसले सिंगो लुम्बिनीको याद आउँछ। सम्झिँदै गर्दा पूर्वदेखि सुदूर पश्चिमसम्मका साथीहरूलाई सम्झन्छु, विभिन्न संस्कृतिभित्र लुकेको सुन्दरतालाई सम्झन्छु।

नेपाल आमा, तिमीले जन्माएका ६० हजारभन्दा बढी छोराछोरीहरू सँगै जापानमा बसोबास गरिरहेका छौं। केही पिर मान्नुपर्दैन। किनकि यो ठाउँमा पनि तिमी भएजस्तै लाग्छ हिजोआज त। यो माटो फरक छ, यो बाटो फरक छ, विकास फरक छ, भाषा फरक छ, खानेकुराहरू फरक छन्। यति धेरै भिन्नता भए तापनि किन किन तिम्रै काखमा भएजस्तो लाग्छ, तर साथ मात्र पराईको लाग्छ।

लोडसेडिङ हुँदैन, पिउने पानीको अभाव छैन, ग्यास कहिल्र्य सकिँदैन, बन्द–हडताल हुँदैन, तलब समयमा नै पाइन्छ, बाटोमा दुर्गन्धित फोहोरहरू थुपारिएका छैनन्, धूलैधूलो पनि छैन। फेरि पनि तिम्रै छायाजस्तै लाग्छ यो ठाउँ।

नेपाल आमा, विदेशमा बसेर आफ्नो संस्कृति र परम्परा बिर्सियो कि भनेर नसोच है। मैले केही बिर्सेको छैन। किनकि यहाँ पनि तिमीले नै पठाएको सरकार छ। यहाँ पनि राजनीतिक पार्टीका प्रवास संगठनहरू छन्। यहाँ पनि जातीय संगठनहरू छन्। यहाँ पनि पूर्वदेखि सुदूर पश्चिमसम्मका छुट्टाछुट्टै संस्थाहरू छन्। यहाँ पनि निर्वाचनको परम्परा कायम राखेका छौँ। आमा केही पिर मान्नुपर्दैन। गुट अनि फुटको खेल बिर्सेको छैन र बिर्सिने पनि छैन। यी सबै कुरा भएर नै होला नेपालकै काखमा खेलिरहेको भान हुन्छ।

यहाँ पनि त्यहाँका जस्तै समाजसेवीहरू छन् अनि समाजसेवा हुन्छ। यहाँ पनि नमस्कार चल्छ नि आमा। उस्तै छ आमा केही फरक छैन त्यहाँ र यहाँ। यहाँ पनि तपाईंका सन्तानहरूमध्ये कोही ठूला र कोही साना छन्, कोही धनी कोही गरिब छन्। यहाँ पनि चाडपर्व उस्तै गरी मनाउने चलन छ। तिम्रो काखमा रमाउँदै दशैँमा सिकेको म्यारिज खेल बिर्सेको छैन, यहाँ पनि निरन्तरता दिइरहेका छौँ। यहाँ त झन् विभिन्न किसिमका पेयपदार्थहरू पाइन्छन्। त्यसैले केही कुराको कमी होला कि भनेर पिर नगर है, नेपाल आमा। चाडबाडमा साथीभाइ र आफन्तहरू जुट्ने वातावरण यहाँ पनि छ। सँगै थोरै भनाभन र अलिकति हात चलाउने संस्कृतिलाई पनि बचाएका छौं।
हिमालले, तराईका फाँटले अनि पहाडहरूले यति धेरै वर्ष नदेख्दा कहिलेकाहीँ त मलाई सम्झिन्छन् होला। यति धेरै वर्ष मेरा पैतालाको पदचिह्न नदेख्दा ती बाटाहरूले खोज्दा होलान्न्। यति धेरै वर्ष मेरा हातहरूको स्पर्श नपाउँदा माटोले खोज्दै होला। म पनि सम्झिन्छु, तिम्रा पीडाहरू आमा। कहिले आफ्नैले त कहिले पराईले प्रहार गरेको खबर पढिरहँदा धेरैपल्ट पोलेको छ छाती। प्रकृतिको वज्रपातले तिमी मूच्र्छा पर्दा म पनि ढलेको थिएँ। सगरमाथा र लुम्बिनीको सिमाना सारिएको झुटो खबर यहाँसम्म आइपुग्दा सरर उडेर तिम्रो काखमा आऊँ जस्तो लाग्छ।

तर दुर्भाग्य, तिम्रो चोटमा मलहम लगाउन आउन सकिना। किनकि तिमीलाई गौरवान्वित बनाउन लिएर आउने कुरा केही छैन मसँग। मैले यहाँको उच्चतम प्रविधिको ज्ञान सिक्न सकिनँ। मैले विदेशको परिस्कृत संस्कृति सिक्न सकिनँ। विकासका नियमहरू सिक्न सकिनँ। समुन्नत कानुन र न्यायको ज्ञान सिक्न सकिनँ। म फगत नेपालीभन्दा माथि उठ्नै सकिनँ। किनकि म त यहाँ पनि तिम्रै छोराछोरीको बीचमा त्यहाँकै जस्तो संस्कारमा बाँचिरहेको छु।
उही तिम्रो छोरा
भुवन रोका
हाल– जापान

प्रतिक्रिया दिनुहोस्