इन्धन अझै अभाव सरकार रमिते



काठमाडौं, (नेस)
नियमितभन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको छ। टइंकरचालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पूरा गराउन दबाब दिने उद्देश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहजरूपमा इन्धन पाउन नसकेका हुन्।

टइंकर ढुवानी व्यवसायीले दबाबस्वरूप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ। ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने अझै रमिते मात्रै भइरेको छ।

निगमले आइतबार मात्र ८ सय २५ किलो लिटर पेट्रोल आपूर्ति गरेको थियो भने सोमबार ७ सय २३ किलोलिटर पेट्रोल आपूर्ति गरेको थियो। मंगलबार पनि ८ सय ५० किलोलिटर आपूर्ति गरेको थियो। जुन परिमाण नियमित आपूर्तिभन्दा दोब्बर हो। उपत्यकामा सामान्य अवस्थामा दैनिक ३ सयदेखि ४ सयको माग रहेको छ। नियमितभन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ। बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटरभन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो।

आयल निगमले ढुवानी विनियमावलीमा संशोधन गर्दै व्यवसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनैपर्ने र प्रत्येक ट्याङ्करमा २ सय लिटर कम इन्धन देखिए दोब्बर कारवाही गर्ने व्यवस्था गरेपछि व्यवसायीले सहज आपूर्तिमा अवरोध गरेका हुन्। व्यवसायीहरूले विनियमावली संशोधन गरी १ व्यक्ति १ ट्यांकरको प्रावधान लागू गर्न माग गर्दै आएका छन्। चालक र व्यवसायीहरूले संशोधित विनियमावलीमा असहमति जनाउँदै प्रतिव्यक्ति एक ट्याङ्कर र प्रत्येक ट्याङ्करमा २ सय लिटरसम्म तेल कम देखिए दोब्वर जरिवाना गर्ने प्रावधान हटाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले त्यस्तो प्रावधान नहटाए १५ गतेबाट सम्पूर्ण ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्। तर नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले विनियमावली सञ्चालक समितिले बनाएको र संशोधन पनि सञ्चालक समितिले नै गर्ने भएकाले आवश्यक छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।

इन्धन व्यावसायी र ट्याङ्कर चालकहरूले आफ्नो स्वार्थका लागि आपूर्तिमा अवरोध गर्दा त्यसको प्रत्यक्ष मार भने सर्वसाधारणमा परेको छ। आयल निगमले पनि समस्या समाधानका लागि कुनै पहल गरेको छैन। प्रवक्ता खनालले अवरोध गर्ने व्यावसायीलाई कारवाही गर्ने अधिकार आयल निगमसंग भए पनि त्यसो गर्दा बजारमा झन् अभाव हुनेहुँदा वार्ता र छलफलबाटै समस्या समाधान गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्