चार दिनदेखि स्वास्थ्यकर्मी धर्नामा



काभ्रे, ११ फागुन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ बमोजिम पदस्थापन गर्नुपर्ने माग राख्दै काभ्रे जिल्लाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा बसेका छन् ।

स्वास्थ्यकर्मी धर्नामा बस्दा आपत्कालीनबाहेक अन्य सेवा पूर्ण रुपमा ठप्प भएको छ । देशव्यापी रुपमा स्वास्थ्यकर्मीले ऐन कार्यान्वनको माग राख्दै झन्डै दुई महिनादेखि आन्दोलन गरिरहेको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ काभ्रेका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनुभयो । स्वास्थ्यकर्मीको माग तत्काल पूरा नगरे सम्पूर्ण सेवा ठप्प गर्ने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण जिल्ला जनस्वास्थ्य कार्यालयको प्रशासनिक काम प्रभाबित भएको कार्यालयका तथ्याङ्क अधिकृत जनार्दन न्यौपानेले बताउनुभयो । स्वास्थ्यकर्मीकै आन्दोलनका कारण आवश्यक सामग्रीको आपूर्ति समेत रोकिएको छ । धर्नाकै कारण जिल्लाबाट केन्द्रमा जाने प्रतिवेदनसमेत रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्