सवारी साधनको संख्या बढे पनि सडकको स्तरोन्नति हुन सकेन



विगतको तुलनामा अटोमोबाइल बजारको विकास उल्लेख्यरूपमा भइरहेको छ। तथ्यांकमा हेर्दा कुल जनसंख्याको शून्य दशमलव ७ प्रतिशत नेपालीसँग चार पांग्रे सवारी साधन छन्। यसको प्रमुख कारण तीव्र शहरीकरण, सडक पूर्वाधार विकास र सवारीमा सबैको पहँुच बढ्नुलगायतका कारण हुन्। सडक पूर्वाधारको विकास अटोमोबाइल बजार विस्तारको प्रमुख आधार हो। चालू आर्थिक वर्षमा पनि सरकारले पूर्वाधार विकासलाई प्राथमिकता राखेको छ। जबदेखि भारतबाट मारुती, टाटाका गाडी आयात हुन थाल्यो त्यस बेलादेखि नेपालीका लागि सुपथ मूल्यमा गाडी प्राप्त गर्न थालेका हुन्।

सर्वसाधारणसँग धेरै गाडी हुनु भनेको मानिसको जीवनस्तर माथि उठेको बुझ्नुपर्छ। हेभी इक्विपमेन्ट आयात धेरै भए देशको विकास अगाडि बढिरहेको छ भनेर बुझ्न सकिन्छ। अहिलेको अवस्थामा नेपाली गाडीप्रेमीको माग भने ३० लाखदेखि ४० लाख मूल्यका साधन नै हुन्, बिक्रीको तथ्यांकलाई हेर्दा ती मूल्यका गाडी बिक्रीको संख्या धेरै छ। यसैबाट नेपालीको आर्थिक स्थिति कस्तो छ भन्ने प्रस्ट हुन्छ।

सवारी साधनको संख्या वार्षिक २० प्रतिशतले वृद्धि हुँदै गएता पनि सडकको स्तरोन्नति भने हुन सकेको छैन। नेपालमा सडक निर्माण नभएका पनि होइनन्, निर्माणले पनि राम्रै गति लिइरहेको छ। तर, समयमा मर्मत र स्तरोन्नतिको काम भने हुन सकेका छैनन्। खाल्डाखुल्डी धेरै भएको सडकमा ‘ग्राउन्ड क्लियरेन्स लो भएका गाडी चल्दैनन्। त्यस्तै उकालो ओरालो, धेरै घुम्ती भएको साना सडकमा तीव्र गतिका साधन चलाउन मिल्दैन। त्यस कारण भएकै सडकलाई स्तरोन्नति गरे काठमाडौंबाट इटहरी पुग्दा पनि तीन दिनको विश्राम लिनुपर्ने अवस्था नआउला।
देशको कुल राजस्वमा करिब ४० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ। यसबाट वार्षिक करिब ८३ अर्ब रुपियाँ राजस्व संकलन हुन आउँछ। भन्सार रकम, रोजगारीको सिर्जना र अप्रत्यक्षरूपमा सामाजिक विकासमा पनि यस क्षेत्रले ठूलो भूमिका खेलेको छ। १७ लाख व्यक्तिले प्रत्यक्षरूपमा रोजगारी नै पाएका छन्, गाडीबाट लाभान्वित उद्योग, कार्यालय पनि अनगिन्ती छन्। यस्तो अवस्थामा मान्छेले अझै धेरै सवारी साधन किने, बैंकहरूले साधन खरिद गर्न लगानी गरे भने अर्थतन्त्र विस्तार हुन ठूलै टेवा पुग्छ।
(रोविन पौडेलसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्