आफ्नै हातमा सवारीको सुरक्षा



हेमन्त जोशी

नेपालको पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको छ। सडकलाई त झन् पूर्वाधारको पनि पूर्वाधार मानिन्छ। सडक पूर्वाधारको विकाससँगै अटोमोबाइल क्षेत्रको पनि बजार विस्तार हुँदै गएको छ।

नेपालमा कुल जनसंख्याको शून्य दशमलव ७ प्रतिशत मानिसले चार पांग्रे गाडीमा पहुँच राख्दछन् भने ७ प्रतिशतले मोटरसाइकल चढ्छन्। करिब १७ लाख नेपालीले प्रत्यक्ष⁄अप्रत्यक्षरूपमा अटोमोबाइल क्षेत्रबाट रोजगारी पाएका छन्। सवारी साधनको संख्या वार्षिक २० प्रतिशतले वृद्धि हुँदै गएको छ भने यसबाट वार्षिक करिब ८३ अर्ब रुपियाँ राजस्व संकलन हुने गरेको तथ्यांक छ।

कसरी गर्ने सवारी साधनको सुरक्षा ?

लाखौं रुपियाँ खर्च गरेर सवारी साधनको खरिद गर्ने उपभोक्ताले सवारी साधनको सुरक्षामा ध्यान नदिए चाँडै बिग्रिएर मूल्यहिन भएर जान्छन्। खराब सडकको अवस्था, सवारी व्यवस्थापन र पार्किङ गर्ने ठाउँको अभाव नेपालको सबैभन्दा ठूलो सवारी सुरक्षा चुनौती हो। जथाभावी पार्किङ गर्दा अन्य सवारी साधनसंँग ठोकिने, कोतरिने र पार्टपुर्जा टुट्ने फुट्ने हुनसक्छ। सडकमा भएका खाल्डा खुल्डी, धामपानी, हिलो र धूलोले सवारी साधनलाई क्षति पुर्याउन सक्छ।

विगत २२ वर्षदेखि स्वयम्भुको छाउनीमा एमएस मोटरसाइकल वर्कसप सञ्चालक नरेश महर्जन कम्पनीअनुसार नै फरक–फरक समस्या देखिने आफ्नो अनुभव सुनाउनुहुन्छ। सबै कम्पनीका मोटरसाइकलमा एउटै समस्या देखिन्छ भन्ने छैन तर इन्जिनको तथा ब्याट्रीको समस्या, माइलेज नदिने, पिकअप, ब्रेक र क्लच जस्ता समस्या प्रमुख रहेको महर्जनले बताउनुभयो। जाडो मौसममा प्रायः बिहान सवारी साधन स्टार्ट नहुने समस्या देखापर्छ। यस्तो खाले समस्या सेल्फ स्टार्टर र इन्जिनका कारणले नभई ब्याट्रीका कारणले देखिन्छ। तसर्थ, चिसो मौसममा सवारीको ब्याट्री दुरुस्त राख्नु आवश्यक हुन्छ। ब्याट्रीलाई समय–समयमा चार्ज गरिराख्नुपर्छ। साथै पुरानो भइसकेको ब्याट्री फेर्नाले समस्या हट्छ। ब्याट्रीको सुरक्षा गर्न यसलाई सुख्खा तथा सफा राख्ने र वाटर लेभललाई पनि सधैं फुल राख्नपर्छ। बेला–बेलामा टायरको अवस्था कस्तो भनेर जाँच गरिरहनुपर्छ। पुराना भइसकेका टायरलाई समयमै फेर्नुपर्छ। यसो गर्नाले सवारी चिप्लिने र टायर पन्चर भएर हुने दुर्घटना रोक्न सकिन्छ। मोटरसाइकलको चेन पनि बेला–बेला सफा गरिरहने र चेन आयल लगाइरहने गर्नुपर्दछ। त्यस्तै मोटरसाइकलको सुरक्षाका लागि हजारदेखि १२ सय किलोमिटर गुडिसकेपछि मोबिल फेर्ने र सर्भिसिङका काम अनिवार्य गरेर सवारी साधनको सुरक्षा गर्न सकिने महर्जनले सुझाव दिनुभयो।

सवारी किन्दा तपार्इंले पाउनुभएको म्यानुअल बुकमा कति–कति समयमा मर्मत सम्भार गर्ने भनेर दिइएको हुन्छ। निर्देशनअनुसार नै समय समयमा सवारी चेक जाँच गर्नाले समस्या आउँदैन। केही समस्या देखिने बित्तिकै यसको निराकरण गरिहाल्नुपर्छ। यसो नगर्नाले पछि अरू समस्या देखिन सक्छन्।

सबै सवारीधनीले उपयुक्त र भरपर्दो रिपेयर सेन्टर खोज्छन्। यस्ता सेन्टरको खोजी गर्दा आफ्ना साथीभाई, परिवारका सदस्य र जानकारबाट पनि सल्लाह लिनु उपयुक्त हुन्छ। यसो गर्नाले पार्टपुर्जामा फेरवदल र सर्भिसिङमा ठगिने सम्भावना कम हुन्छ। सवारी मर्मत गर्दा टेक्निसियन र इन्जिनियरको दक्षता र अनुभवको पनि विचार पुर्याउन जरुरी हुन्छ।
अहिले विद्युतीय सवारी साधनको उत्पादन र बजारीकरणको विषय नेपालमा मात्र नभई विश्वस्तरमा नै चर्चाको विषय बनेको छ। नेपालमा नाकाबन्दीको बेला यस्ता सवारी साधनको आवाज उठेको थियो। विद्युतीय सवारी साधनको हकमा पनि नेपाल समस्यामुक्त नरहेको बताउनुहुन्छ ऊर्जाविद् हितेन्द्रदेव शाक्य। उहाँ भन्नुहुन्छ– ‘इन्धन सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु नै नेपालको सबैभन्दा ठूलो समस्या हो। त्यस्तै विद्युतीय सवारीको लागि चार्जिङ स्टेसन ब्याट्री विसर्जनको विषय पनि चुनौतीको रूपमा देखिएको छ।

साना चारपांग्रे सवारी साधनको सुरक्षा पनि उत्तिकै चुनौतीपूर्ण छ। बाहिर र भित्र दुवैपटि महिनाको दुई चोटी नियमित सफा गर्न जरुरी छ। ३ हजारदेखि ५ हजार किलोमिटर गुडिसकेपछि इज्जिन आयल फेर्नुपर्छ। त्यस्ता आयलको गुणस्तर पनि ठीक छ⁄छैन भनेर थाहा पाउनु पनि जरुरी छ। टायरमा हावाको अवस्था ठीक रहेको नरहेको जाँच गराउनुपर्छ। ब्रेकप्याड ठीक रहे नरहेको पनि बेला–बेला चेक जाँच गरिरहनुपर्छ। लामो समयसम्म एकै ठाउँमा पार्किङ गरिरहनुपर्ने अवस्थामा र राति पार्किङ गर्दा पनि कार कभरले छोपेर राख्नुपर्छ। जसले गर्दा धूलो जम्ने समस्याबाट केही छुट्कारा पाउन सकिन्छ। एयरफिल्टरलाई बेला–बेला सफा गरिराख्नाले सवारी पिकअपलाई लामो समयसम्म कायम गर्न सकिन्छ। इन्जिनको तापक्रमलाई सन्तुलनमा राख्नका लागि ८ सयदेखि हजार किलोमिटर गुडिसकेपछि एन्टिफ्रिज अन गर्नुपर्छ। कारको भित्रपटि सुहाउँदो कार्पेट अथवा फ्लोरम्याट प्रयोग गर्नपर्छ। जसले गर्दा सफा गर्न सजिलो हुन्छ। प्रत्येक २० देखि २५ हजार माइलमा स्पार्क प्लगलाई जाँच गर्नुपर्छ भने ५० हजार माइलपछि फेर्नु उपयुक्त हुन्छ। सवारी साधनलाई पार्किङ गर्दा छायाँ परेको ठाउँमा अथवा प्रत्यक्ष सूर्यका किरण सीधै नपर्ने ठाउँमा गर्नुपर्छ। सीधै घाम पर्दा सवारी तातेर खराबी आउन सक्छ। सर्भिसिङ गर्दा दक्ष टेक्निसियनबाटै गराउनुपर्छ सिकारु टेक्निसियनसंँग गराउँदा त्यति प्रभावकारी नहुनसक्छ।

सवारी साधनको गुणस्तर र समस्या
नेपालमा ‘युरो थर्ड मापदण्डका सवारी साधन आयात भइरहेका र यो मापदण्डभन्दा बाहिरको सवारी साधन आयात गर्न नपाइने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउनुहुन्छ। त्यस्तै सरकारले विभिन्न आवधिक र दीर्घकालीन योजनामा सवारीसंँग सम्बन्धित कार्ययोजना ल्याउने गरेको छ। सवारी सुरक्षाका लागि सरकारले प्रदेशगतरूपमा भेइकल फिट्नेस सेन्टर बनाउने कुरा चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ। त्यस्तै नेपालमा युरो–१ मापदण्डका र २० वर्ष पुराना सवारी साधन विस्थापित गर्ने निर्णय हाल कार्यान्वयनको चरणमा छ।

ग्राहकले कस्ता सवारी साधन खोज्छन् ?
चारपांग्रेका सवारी साधानका ग्राहक मध्यम र उच्च वर्गीय व्यक्ति हुन्। तर, मोटरसाइकलमा भने सामान्य मानिसले पनि पहुँच राख्न सक्छन्। ग्राहकको उमेरले पनि सवारी साधनको छनोटमा प्रभाव पार्छ। युवा पुस्ताले प्रायः स्टाइलिस र स्पोर्टस् बाइक र कार रुचाउने तथा बुढापाकाले बढी माइलेज दिने र साधारण खालका मोटरसाइकल, गाडी खोज्ने गरेको बबरमहलस्थित एमके इन्टरप्राइजेजमा कार्यरत सेल्स म्यानेजर श्रेशा शाक्यले बताउनुभयो। शाक्यका अनुसार चारपांग्रेमा आम मानिसको रोजाइ १५ लाखदेखि २५ लाख रुपियाँसम्मका गाडी पर्ने गरेका छन्। तरलता अभावको देखाउँदै बैंक तथा वित्तीय संस्थाले सवारीमा कर्जा लगानी गर्न कडाइ गरेका कारण समग्र अटो मोबाइल व्यवसाय प्रभावित भएको छ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्