साढे ४६ अर्बको गाडी आयात



दीपेन्द्र थापा

चालू आर्थिक वर्षको ६ महिनासम्म विदेशबाट कुल ४६ अर्ब ६० करोड रुपियाँ बराबरका सवारी साधन र सवारीका पार्टपुर्जा आयात भएको छन्। चालू आवको ६ महिनामा ६ अर्ब ५० करोड बराबरका २८ हजार ३ सय २९ वटा ट्याक्टर, १२ अर्ब ६५ करोड रुपियाँ मूल्य बराबरको ७ सय ४५ वटा बस, मिनीबस र माइक्रोबस आयात भएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार सामान बोक्ने सवारी ट्रक, मिनी ट्रक र पिकअप ६ अर्ब ५१ करोड रुपियाँ मूल्य बराबरको ७ हजार २ सय ८७ वटा आयात भएको छ। त्यस्तै चालू आर्थिक वर्षको ६ महिनामा १० अर्ब ७ करोड रुपियाँ मूल्य बराबरको १ लाख ४२ हजार १ सय ६६ वटा मोटरसाइकलको आयात भएको भन्सार विभागले जनाएको छ। त्यस्तै १० अर्ब ४० करोड रुपियाँबराबरको साना सवारी साधन भित्रिएको विभागले जनाएको छ। यस अवधिमा १३ हजार ५ सय ४७ वटा कार, जिप र भ्यान आयात भएका छन्। यो गत वर्षको भन्दा बढी हो। गतवर्ष १२ हजार ३ सय ३२ वटा साना सवारी आयात भएका थिए।

गत आर्थिक वर्षमा यातायात क्षेत्रबाट १३ अर्ब ८१ करोड ४० लाख राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षको प्रथम ३ महिनामा यातायातका साधन र तिनका पार्टपुर्जाबाट राजस्व १ सय ८५ दशमलव ४ प्रतिशतले वृद्धि भई २५ दशमलब ५८ अर्ब रुपियाँ पुगेको छ। पछिल्लो ५ वर्षमा सवारी साधन आयात तीव्ररूपमा बढेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०६८⁄०६९ मा २ हजार ८५ वटा बस यातायात व्यवस्था विभागमा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष त्यो संख्या बढेर ४ हजार ३ सय ५३ पुगेका छन्। ५ वर्षमा १६ हजार २ सय १४ वटा बस थपिएको विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै मिनीबस र मिनीट्रक १० हजार ८ सय ५ वटा दर्ता भएका छन्। सोही अवधिमा जिप, कार र भ्यानको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ। पछिल्लो ५ वर्षमा मात्र ७१ हजार ६ सय वटा यस्ता सवारी थपिएको विभागले जनाएको छ। त्यस्तै मोटरसाइकलको संख्या ९ लाख ४८ हजार ३ सय थपिएका छन्। अन्य थपिएका सवारी साधनमा पिकअप भ्यान २५ हजार २ सय ८१, माइक्रो बस २ हजार ५ सय ६० र टेम्पो ४ हजार २ सय ४० वटा थपिएको विभागको तथ्यांकमा उल्लेख छ। यातायात व्यवस्था विभागसँग रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६⁄०४७ देखि आर्थिक २०७२⁄०७३ सम्म १ लाख ९२ हजार २८ कार, जिप, भ्यान तथा १८ लाख ३५ हजार २८ मोटरसाइकल नेपालमा भित्रिएका छन्।

त्यस्तै मिनिबस, मिनीट्रक २ हजार ६ सय १४ दर्ता भएका छन्। बसको कुल संख्या ४१ हजार ४ रहेको छ। निर्माण क्षेत्रमा प्रयोग हुने सवारी जस्तै क्रेन, डोजर, एस्काभेटर, ट्रकको संख्या ६५ हजार ५ सय ४५ रहेको छ। माइक्रो बस ४ हजार ८ सय ८३, पिकअप भ्यान ३४ हजार ९ सय ५६ को संख्यामा पिकअप भित्रिएका छन् भने टेम्पो ११ हजार ६ सय ८१ रहेका छन्। ट्याक्टर पावर टेलरको संख्या भने १ लाख १३ हजार ४ सय ८१ को संख्यामा रहेको छ। ई–रिक्साको संख्या ४ हजार ८ सय ९४ रहेको छ। जसमा अन्य सवारी साधनको संख्या ७ हजार ५५ रहेको छ। विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षसम्म कुल २३ लाख ३९ हजार १ सय ६९ वटा सवारी साधन दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्