९३ प्रतिशतको दोष ७ प्रतिशतमाथि थोपर्न मिल्दैन



नेपालमा अटो मोबाइल व्यवसायको स्थिति, सम्भावनाका साथै पछिल्लो अवस्थामा देखिएका चुनौतीलगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शेखर गोल्छासँग नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गर्नुभएको कुराकानीः

अटोमोबाइल व्यवसायको पछिल्लो अवस्थालाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?

अटो मोबाइलको क्षेत्रमा विभिन्न धारणाहरू बाहिर आएका छन्। एकथरीको धारणा काठमाडौंमा गाडीहरू धेरै भए, ट्राफिक व्यवस्थापनमा समस्या भयो भन्दै गाडीको आयात तुरुन्तै घटाउनुपर्छ भन्ने रहेको छ। अर्को थरीले बैंक तथा वित्तीय संस्थाले अटोमोबाइल क्षेत्रमा धेरै ऋण लगानी गरेको हुँदा बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको हो भन्ने धारणा पनि राख्ने गरेको पाइन्छ। तर, मेरो विचारलाई अटोमोबाइल व्यवसायीले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि बोलेको कुराका रूपमा नहेरेर यथार्थ कुराका रूपमा बुझ्ने हो भने अटोमोबाइल क्षेत्रमा मुख्यतया तीन वटा कुरालाई लिएर विश्लेषण गर्नुपर्छ।

तीमध्ये पहिलो देशको कुल राजस्व संकलनमा अटोमोबाइल क्षेत्रले मात्रै ४० प्रतिशत योगदान दिँदै आएको छ। (कार, मोटरसाइल, ट्रकलगायत साधन र त्यसमा प्रयोग हुने इन्धनसहित) देशको बजेट खर्चको इतिहासलाई हेर्ने हो भने कुल बजेटको ४०–५० प्रतिशत मात्रै विकासमा खर्च हुँदै आएको स्थिति छ। यसका आधारमा हामी दाबीका साथ भन्छौं– देशले जति पनि विकासको काममा खर्च गर्दै आएको छ, त्यो बराबरको राजस्व संकलन अटोमोबाइल क्षेत्रबाट हुँदै आएको छ। अटो मोबाइल क्षेत्रलाई निरुत्साहित गर्ने भनेको देश विकासको गतिलाई कम गर्नु हो। यो तथ्यांकले पुष्टि गर्ने तर्क हो। अर्को देशमा विद्यमान उद्योगधन्दा व्यवसायमध्ये सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र पनि अटोमोबाइल क्षेत्र नै हो। बस सञ्चालन भयो भने, ट्रक चल्यो भने त्यसबाट रोजगारी सिर्जना हुन्छ। एउटा बसबराबर ७ जनाले रोजगारी पाउने गरेको अध्ययनले देखाएको छ। त्यसैले यो क्षेत्र नै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र हो। तेस्रो कुरा कुनै पनि विकासको गतिलाई समात्नका निम्ति ‘मुभिलिटी आवश्यक हुन्छ। त्यो कुरा जुनसुकै अर्थविज्ञलाई गएर सोध्नुहोस्, उहाँले दिने तर्क त्यही हो। तसर्थ, अर्थतन्त्र चलायमान बनाउनका निम्ति यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ। उदाहरणका निम्ति जुम्लाको किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याउन ट्रान्सपोटेसन जरुरी हुन्छ। यदी ट्रान्सपोटेसन भएन भने विकासको अनुभूति गर्न सकिँदैन।

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको यो विषयलाई रोक्न खोज्नु भनेको आर्थिक विकासको गतिलाई रोक्नु हो। गाडीको आयात रोक्नुपर्छ भनेर तर्क गर्नेहरूलाई म सोध्ने गर्छु। तपाईं के चढेर यहाँसम्म आउनुभयो। उहाँहरूमध्ये कसैले गाडी चढेर आएँ भन्नुहुन्छ, कति मोटरसाइकल चढेर आएँ भन्नुहुन्छ। आम मानिसको आवश्यकतासँग जोडिएको विषय अटोमोबाइल क्षेत्र हो। आफूले प्रयोग गर्ने अर्कोले नगरोस् भन्ने तर्क नै गलत हो।

यहाँले यति धेरै सम्भावना र आवश्यकताको दृष्टान्त दिनुभयो। तर, बैंकिङ क्षेत्रले अटो मोबाइल क्षेत्रलाई किन अनुत्पादक क्षेत्रको रूपमा परिभाषित गरेको होला ?

मेरो विचारमा बैंकिङ क्षेत्रमा आएको दबाबलाई ‘डाइभर्ट गर्नका लागि अटो मोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिएको हो कि। वास्तवमा बैंकिङ क्षेत्रको कुल ऋण लगानीको ६⁄७ प्रतिशत मात्रै अटोमोबाइल क्षेत्रमा लगानी भएको छ। ९३ प्रतिशत ऋण त अरू क्षेत्रमा लगानी भएको छ। अटो क्षेत्रले मात्रै तरलता निम्त्याएको होइन।

जनमानसमा के सिर्जना गर्न खोजिएको छ भने अटो क्षेत्रका कारण अहिले तरलता समस्या आएको हो। सरसर्ती हेर्दा हो कि जस्तो पनि देखिएको छ। सडकमा गाडी धेरै देखिएका छन्। ट्रिपर पनि त्यति नै कुदेका छन्, बस माइक्रोहरू उत्तिनै छन्। ट्राफिक समस्या पनि सँगै रहेपछि साच्चिकै अटो क्षेत्र अनुत्पादक हो कि भन्ने मानिसलाई लागेको छ, त्यसकै आधारमा तर्क हुँदै आएको छ। ९३ प्रतिशतको दोष ७ प्रतिशतमाथि थोपर्न मिल्छ ? अर्को कुरा अनुत्पादक क्षेत्रको तर्क नै हास्यास्प्रद हो। बस, ट्रक अर्थ मुभर्सहरू कसरी अनुत्पादक भए ? वस्तु ढुवानी गर्ने, पूर्वाधार निर्माणका काम गर्ने साधनहरू कसरी अनुत्पादक हुन सक्छन्।

मोटरसाइकलमार्फत् कतिले आफ्नो व्यवसाय चलाएका छन्। गाडी चढ्नेहरूलाई तपाईंले फोन गरेर सोध्नुभयो भने कति अफिस जाँदै छु भन्लान्, कतिले के काममा जाँदै छु भन्लान्। सबै जना गाडी चढेर फनफनी घुम्ने मात्रै त होइन नि⁄ कुनै मानिस घुम्न नै निस्कियो भने पनि यसले अर्थतन्त्रलाई चलाएमान बनाउँछ। यसका साथै आम मानिसको एउटा सपना हुन्छ, मेरो आफ्नै मोटरसाइकल होस्, गाडी होस्। त्यो सपनालाई त्यत्तिकै मर्न दिने ? के अबको पुस्ताले गाडी चढ्न पाउँदैनन्, किन्न पर्यो भने पनि असाध्यै महँगो हुन्छ, तिमी जिन्दगीभर साइकल मात्रै चढ्नुपर्छ भन्ने मानिसको मनमा भावना उत्पन्न भयो भने मानिसले किन मेहनत गर्छ ? काठमाडौंलाई मात्र हेरेर देशभरकै एउटा योजना बनाउनुहुँदैन। गाडी आयात रोक्नुपर्छ भन्नेहरू नै गाडी चढेर आउने गरेका छन्। आफू चढ्ने अरूले चढ्न हुँदैन भन्ने यो कस्तो तर्क हो।

तरलता अभावको चर्चासँगै अटो क्षेत्रको व्यवसायमा ह्रास आएको तथ्यांक केही छ ?

यो त यही महिनामा नै देखिन्छ। सरकारले राजस्व, भन्सार तथा कर संकलनका निम्ति राखेको लक्ष्यमा ६०⁄६५ प्रतिशत गिरावट आउन सक्छ। अहिले माग उत्तिकै छ। तर, तरलता अभावका कारण गाडीहरू आउन सकेका छैनन्।

म अझै प्रस्ट हुन खोजें, हेभी इक्विपमेन्टहरूलाई पनि अनुत्पादक भन्ने गरिन्छ। त्यसका आधारमा कतिपयले अटो क्षेत्रलाई वर्गीकरण गर्नुपर्यो भन्ने आवाज उठाएको पनि सुनिन्छ, यहाँलाई के लाग्छ ?

देश विकासका लागि एउटा अर्थ मुभर्सको जति योगदान हुन्छ मोटरसाइकलको पनि त्यति नै योगदान हुन्छ। एउटा मध्यमवर्गीय परिवारको व्यक्तिले आफ्नो पेसा व्यवसाय सञ्चालन मोटरसाइकलबाट नै गर्दै आएको छ। हामीकहाँ ‘मास ट्रान्सपोटेसन को व्यवस्था छैन। त्यस कारण मोटरसाइकललाई कसरी अनुत्पादक भन्न मिल्छ ।

हाल देखिएको समस्यासँग जुध्नका लागि व्यवसायीहरूको तर्फबाट केही पहल भएको छ ?

हामीले विभिन्न फोरमहरूमार्फत् तथ्यांकका आधारमा आफ्ना कुरा राख्दै आएका छौं। मैले बोल्दा आफ्नो व्यवसायको सुरक्षा गर्यो भन्ने हुन सक्छ। यद्यपि, मेरो अरू व्यवसाय पनि छ। मेरो व्यवसायको कुरा छोड्दिनूस्, हाम्रा तर्कलाई खण्डन गरिदिनु कि हामीलाई विकास चाहिँदैन, ४० प्रतिशत राजस्व नभए पनि हुन्छ। हामी मानिसलाई ‘मोटिभेसन गर्ने काम नगरौं, जो जहाँ छ त्यहाँ छोडौं भन्ने कुरातर्फ लागौं, होइन भने यी कुरामा नअल्झिऔं।

ट्राफिक व्यवस्थापनको समस्या पनि अटो मोबाइल व्यवसायमा चुनौतीका रूपमा देखापरेको हो ?

विषेश गरी काठमाडौंमा मेलम्चीको पानी वितरण गर्नका निम्ति पाइप बिछ्याउने कार्यका कारण शहर अस्तव्यस्त भएको छ। यसले ट्राफिक व्यवस्थापन र वातावरणको समस्यालाई बढी उब्जाएको छ। यो गाडी, मोटरसाइकलका कारण मात्र होइन, काठमाडौंमा गाडीको संख्याका अनुसार जति ट्राफिक प्रहरी परिचालित छन्, त्योभन्दा दश गुणा भढी ट्राफिक प्रहरी परिचालन हुनुपर्छ।

ट्राफिक जाम गाडीले गर्दा होइन, चालकले गर्दा हुने हो। चालकले गलत ठाउँमा पार्किङ गर्यो, गलत ठाउँबाट मोड्न खोज्यो, लेन अनुशासन पालना गरेन भने समस्या आउने हो। चालकलाई तिमी गाडी चलाउन योग्य छौ भनेर लाइसेन्स कसले दियो, राज्यले होइन ? चालकको दोष गाडीलाई त दिनुभएन नि।

अटो व्यवसाय र पूर्वाधार विकास एक अर्कासँग सम्बन्धित विषय हुन्। अहिले मुलुकको पूर्वाधार विकासको गतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

विगतमा विकास खर्च जुटाउनका लागि विदेशी सहयोगमा निर्भर हुनुपथ्र्यो। तर, अहिले त्यो कम हुँदै गएको छ। खर्च गर्ने क्षमता बढ्दै गएको भए पनि राज्यको व्यवस्थापकीय क्षमता भने कमजोर रहेको देखिन्छ। विकास खर्चका लागि छुट्याइएको बजेट कसरी खर्च गर्ने भन्ने योजना भएन, नेतृत्वमा त्यो क्षमता देखिएन, पूर्वाधार विकासका लागि बजेट भएर पनि काम हुन सकिरहेको छैन।

म अझै स्पष्ट हुन चाहें, जसरी अटोमोबाइलको आयातमा वृद्धि हँुदै गएको छ, त्यसको अनुपातमा सडक, पुल आदिको विस्तारको गति कस्तो छ ?

अटोमोबाइल क्षेत्र वार्षिक ६०–६५ प्रतिशतको हाराहारीमा बढ्दै गएको छ। हाम्रो विकासको गति भने शून्यप्रायः छ। अहिले नै भन्नुहोस् ८ महिना बित्न लाग्यो विकास खर्च १३⁄१४ प्रतिशत मात्र छ। अबको ३ महिनामा हामी हावाको भरमा खर्च गर्छौं, विकासको थुक लगाएर टालेजस्तो हुन्छ, यसबाट परिणाम आउँदैन।

सरकारले अहिले २० वर्ष पुराना र साना पब्लिक गाडी हटाउँदै छ, यो निर्णय कस्तो हो ?

यसलाई सकारात्मकरूपमा नै लिनुपर्छ। हामीले ‘मास ट्रास्पोर्टेसन को विषयमा सोच्नुपर्ने बेला आइसक्यो। काठमाडौं त अहिले एउटा चोकजस्तो भइसक्यो।

अन्त्यमा यहाँले भन्न बाँकी रहेको विषय केही छ ?

ट्राफिकको समस्या व्यवस्थापनको समस्या हो। काठमाडौंको जनसंख्या ४० लाख छ भनिन्छ तर त्यसको आधारमा भन्ने हो भने अहिले रहेको गाडीको संख्या न्यून नै हो। एउटा मध्यमवर्गीय परिवारको व्यक्तिका सपनामध्ये शीर्ष तीन कुराभित्र गाडी पनि पर्छ। म फेरि पनि जोड दिन चाहन्छु कि उसलाई आफ्नो महत्त्वकांक्षा पूरा गर्ने उत्साह हँुदैन भने उसले काम गर्नै छोडिदिन्छ। त्यस कारण नागरिकको सपनामाथि तुषारापात गर्न कसैले पाउँदैन।

प्रतिक्रिया दिनुहोस्