१७ लाख जनालाई रोजगारी दिने अटो मोबाइल क्षेत्र उत्पादक कि अनुत्पादक ?



राजु श्रेष्ठ

किङ क्षेत्रमा तरलता अभाव देखिएसँगै उत्पादक क्षेत्र कि अनुत्पादक क्षेत्रको परिभाषालाई लिएर अहिले सरोकारवालाबीच बहस हुँदै आएको छ । विशेष गरी अटो मोबाइल क्षेत्रलाई पनि बैंकिङ क्षेत्रले अनुत्पादक क्षेत्रको कोटीमा राखेपछि सरोकारवालाबीच बहस शुरू भएको हो ।

सरकारले अटो मोबाइल क्षेत्रलाई विलाशिताको वस्तुको सूचीमा राख्दै २ सय २५ प्रतिशतको हाराहारीमा कर लगाएको स्थितिमा एक पक्षले अटो मोबाइल क्षेत्र अनुत्पादक रहेको र यसमा हुने लगानीलाई नियन्त्रण गर्नुपर्ने तर्क गरिरहेको छ भने अर्को पक्षले अटो मोबाइल क्षेत्र रोजगारीमुखी रहेको हुँदा यसलाई अनुत्पादक क्षेत्रमा परिभाषित गर्नु हास्यास्पद रहेको तर्क गर्दै आएको छ । वार्षिक करिब १ खर्ब रुपियाँ ऋण लगानी हुने र त्यसकै हाराहारीमा राजस्व संकलन (सवारीजन्य वस्तुसहित) तथा करिब १७ लाख जनाले प्रत्यक्ष⁄अप्रत्यक्ष रोजगारी पाएको क्षेत्र अनुत्पादक हुनै नसक्ने तर्क उनीहरूको छ । गत आर्थिक वर्षमा सडक मर्मत तथा सम्भार दस्तुर शीर्षकमा सवारीसाधनबाट मात्रै ७ अर्ब रुपियाँ कर संकलन भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शेखर गोल्छा बैंकिङ क्षेत्रमा आएको दबाबलाई ‘डाइभर्ट गर्नका लागि अटो मोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रको बिल्ला भिराइएको तर्क गर्नुहुन्छ । उहाँले वस्तु ढुवानी गर्ने, पूर्वाधार निर्माणका काम गर्ने, सवारी बोक्ने साधन अनुत्पादक हुनै दाबी गर्नुभयो । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल नेपाल राष्ट्र बैंकले उत्पादक क्षेत्रमा प्रयोग हुने सवारी साधनलाई मात्र उत्पादनमुखी सवारी भनेको रूपमा व्याख्या गरेको बताउनुहुन्छ । ट्रकले निर्माणका सामग्री बोकेमा उत्पादक र मानिस बोकेमा अनुत्पादक हुने उहाँको भनाइ छ ।

नेपाल बैंकर एसोसिएसनका उपाध्यक्ष एवम् सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन भने अटो क्षेत्रलाई सेवामुखी उत्पादकमुलक क्षेत्रको रूपमा परिभाषित गर्नुहुन्छ । विशेष गरी ट्रक, ट्याक्सी यो क्षेत्रमा पर्ने उहाँको तर्क छ। उहाँका अनुसार तरलताको समस्यापछि बैकिङ क्षेत्रले अटो मोबाइलका क्षेत्रमा ऋण लगानी कम गरेको भए पनि बन्द नै नगरेको बताउनुहुन्छ । अटो क्षेत्रमा बैंकिङ क्षेत्रले वार्षिक करिब ८५ अर्ब रुपियाँ ऋण लगानी गर्ने गरेको र यो कुल ऋण लगानीको लगानीको ६ प्रतिशतको हाराहारी रहेको महर्जनको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘विगत दुई वर्षदेखि बैंकिङ क्षेत्रबाट अनुत्पादक क्षेत्रमा बढी लगानी बढ्दै गइरहेको छ । ऊर्जा र पर्यटनबाहेक अरू उत्पादकत्व भएका क्षेत्रमा लगानीको वातावरण बनेको छैन उद्योगको सञ्चालनबाहेक अरूमा लगानीको माग आएको छैन । ऋणीको आयस्तर र ऋणीको अवस्था हेरेर अटो क्षेत्रमा बैंकिङ क्षेत्रले ७० प्रतिशतदेखि ८० प्रतिशतसम्म ऋण लगानी गरिरहेको महर्जनले बताउनुभयो ।

पछिल्लो तरलता समस्याका कारण बैंकिङ क्षेत्रले समग्र ऋण लगानीको ब्याजदर वृद्धि गरेपछि अटोमोबाइल व्यवसायमा समेत यसले प्रत्यक्ष असर गरेको व्यवसायीहरूको गुनासो छ, कुल राजस्व संकलनको ४० प्रतिशतको हाराहारीमा योगदान अटो क्षेत्रबाट हुन्छ । तरलताका कारण अटो मोबाइलको व्यवसाय खस्किँदै गएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठको भनाइ छ । उहाँको कम्पनीले अघिल्लो महिना राखेको बिक्रीको लक्ष्यभन्दा ५० प्रतिशत कम भएको बताउनुभयो । तरलता समस्याका कारण ‘अटो लोन मा २ देखि साढे २ प्रतिशत ब्याजदर बढेको छ । अब फेरि बढ्यो भने त्यसले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने र अटो क्षेत्रमा नयाँ चुनौतीका रूपमा खडा भएको श्रेष्ठको भनाइ छ ।‘अटो लोन मा ब्याजदर वृद्धि भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले पनि स्वीकार गर्नुभयो । उहाँका अनुसार बैंकिङ संस्थाले ९ दशमलब ५ प्रतिशतदेखि ११ दशमलश ५ प्रतिशत ब्याजदरमा अटो क्ष्ँेत्रमा ऋण लगानी गरिरहेका छन् ।

अटो क्षेत्रको व्यापारमा देखिएको गिरावटका कारण सरकारले राजस्व, भन्सार तथा कर संकलनका निम्ति राखेको लक्ष्यमा ६०⁄६५ प्रतिशतसम्म गिरावट आउन सक्न गोल्छाको दाबी छ । उहाँले यसको असर आगामी आर्थिक वर्षको बजेट निर्माणमा पर्ने उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउनका निम्ति यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ ।

व्यवसायी भन्छन्– ‘हामी गाडी होइन मोबिलिटी बेचिरहेका छौं, अहिले गाडी सोख होइन आवश्यकता भइसकेको छ । विकासको गतिलाई यातायातका साधानसँग जोडेर हेर्नुपर्छ । अहिले मध्यमवर्गीय मानिसले मोटरसाइकलबाट आफ्नो जीवीकोपार्जन गर्दै आएको छ भने एउटा बसबराबर सात जनाले रोजगारी पाउने गरेका छन् । मास ट्रान्सपोटेसनको व्यवस्था नभएको नेपालजस्ता देशमा गाडी न्यूनतम आवश्यकता भएको छ । चालू आर्थिक वर्षको बजेटले कम्पनीको मोडलमा पाँच वटाभन्दा बढी धेरै सिट भएका सवारी आयात गर्न चाहेमा ९० प्रतिशतसम्म भन्सार छुट दिने व्यवस्था गरेको हुँदा मास ट्रान्सपोटेसनका साधनप्रति आकर्षण बढ्ने देखिन्छ ।

एकातिर अटो क्षेत्रलाई जबरजस्ती अनुत्पादक क्षेत्रको बिल्ला भिराउने काम भइरहेका बेला काठमाडौंमा सवारी साधान नियन्त्रण गर्नुपर्ने आवाज पनि नेपथ्यबाट सुनिन थालेको छ । सरकारले २० वर्ष पुराना सार्वनिक सवारीलाई फागुन १७ गतेदेखि हटाउने निर्णय गरिसकेको सन्दर्भलाई जोडेर कतिपयले काठमाडौंमा गाडीको चाप र प्रदूषण बढी भयो भन्दै आयातमा नियन्त्रण गर्नुपर्ने आवाज उठाउने गरिएको छ । यात्रालाई सुरक्षित बनाउनु र वातावरण स्वच्छ राख्नु जायज भए पनि आयात नै रोक्न नहुने पक्षमा सरोकारवालाहरू जोड दिएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार नेपालमा सवारी साधनको संख्या कहालीलाग्दो होइन । ‘बंगलादेश, श्रीलंकाको तुलनामा नेपालमा भएका सवारी साधनको संख्या थोरै छन् तर केन्द्रिकृत भएका कारण समस्या देखिएको हो । काठमाडौंमा मात्रै झन्डै ११ लाख सवारी साधन रहेका छन् । सन्तुलित विकास हुन नसक्नुको नियति काठमाडौंले भोगेको हो –पाण्डेले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागका वातावरणविद् नवराज पोखरेलका अनुसार अहिले काठमाडौंको प्रदूषणको मुख्य कारक धूलो रहेको छ, सडक, ढल तथा पाइप बिच्छाउने तथा मर्मतका काम हुँदा वातावरण प्रदूषणको ३५ प्रतिशत धूलोको कारण रहेको उहाँले बताउनुभयो । त्यस्तै गोल्छाका अनुसार ट्राफिक जाम गाडीले गर्दा होइन, चालकले गर्दा हुने हो । चालकले गलत ठाउँमा पार्किङ गर्यो, गलत ठाउँबाट मोड्न खोज्यो, लेन अनुशासन पालना गरेन भने समस्या आउने हो ।

चालकलाई तिमी गाडी चलाउन योग्य छौ भनेर लाइसेन्स कस्ले दियो, राज्यले होइन ? चालकको दोष गाडीलाई दिन नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्