संगीतकर्मीहरु सम्मानित



ख्यातिप्राप्त संगीतसाधक नातीकाजी श्रेष्ठको स्मृतिमा स्थापित नातीकाजी स्मृति समाजले उनको ९२औँ स्मृति दिवसमा विभिन्न ५ विधामा संगीतकर्मीहरुलाई संगीत सम्मान र पुरस्कार प्रदान गरेको छ। मंगलबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संगीतकर्मीहरुलाई कदरपत्रसहित सम्मान प्रदान गरेकी थिइन्।

समारोहमा राष्ट्रपति भण्डारीले नातीकाजी विशिष्ट श्रष्टा सम्मानद्वारा संगीत शिरोमणि भक्तराज आचार्यलाई नगद २० हजार रुपियाँसहित सम्मान गरिन्। त्यसै गरी नातीकाजी राष्ट्रिय विषेश संगीत सम्मानद्वारा गायक गायिका तथा संगीतकर्मीहरु कल्याण रिमाल, गायक दीपक खरेल, आनन्द कार्की, गायिका उर्मीला श्रेष्ठ, संगीतकार ध्रुवेशचन्द्र रेग्मी सम्मानित भएका छन् भने नातीकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार रमण घिमिरे, गायक रामकृष्ण ढकाल, गायिका देविका बन्दना र संगीतकार टीका भण्डारीलाई सम्मानित गरिएको छ। त्यस्तै नातीकाजी राष्ट्रिय संगीत संयोजन पुरस्कारबाट संगीत संयोजक अमूल कार्की ढली र संगीतकार आलोकश्री पुरस्कृत भए भने नातीकाजी स्मृति समाज योगदानबाट डा. कल्याणराज शर्मा, चिरञ्जीवी थापा, डण्डपानी कडेल सम्मानित भएका छन्। पुरस्कृत संगीतकर्मीहरूलाई जनही नगद ११ हजार १ सय ११ पनि प्रदान गरिएको थियो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा सर्जकहरुले आफ्नो सिर्जना प्रस्फ्ुटन गर्ने धेरै राम्रो अवसर पाएको चर्चा गर्दै गीतसंगीतमार्फत अगाडि आउनेहरुका लागि धेरै अवसर रहेको बताइन्। ‘नातीकाजीले गीत र संगीतमार्फत नेपाल र नेपालीलाई जोडेका छन्। उहाँ हामीसामू नभए पनि उनी र उनको कृति अमर रहनेछ राष्ट्रपति भण्डारीको भनाइ थियो। त्यसै गरी समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नेपाली गीतसंगीतलाई श्रष्टाहरुले पुर्याएको ऐतिहासिक कदरको सम्मानस्वरूप सम्ममान तथा पुरस्कार प्रदान गरिएको बताए। सम्मानित व्यक्तिहरुको तर्फबाट बोल्दै गीतकार रमण घिमिरेले रेडियो हुदै संगीतममा प्रवेश गरेका नातीकाजीले ५ दशकसम्म नेपाली गीतसंगीतमा रहेर अथक योगदान दिएको बतँए। ‘उनी रेडियो नेपालमा जागीरे थिए तर कुनै पनि मोडमा आफू कर्मचारी सम्झेर काम गरेनन्। रेडियो नेपालको अँधेरो छिंडीमा बसेर संगीत सिर्जना गर्दै नेपाली सांगीतिक क्षेत्रलाई उज्यालो प्रदान गर्ने नातीकाजीको नामबाट स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउँदा निकै खुसी छु –उनले भने।

कार्यक्रममा गायक रामकृष्ण ढकालले नातीकाजीकृति राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित नेपाली हामी रहौंला कहा नेपालै नरहे तथा गायिका देविका बन्दनाले नातीकाजीद्वारा संगीतबद्ध तथा चाँदनी शाहद्वारा रचित उकाली ओरालीहरुमा बोलको गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्