पाल्पाकी अञ्जना इमेज लोक कलाकार



इमेज च्यानलबाट प्रसारण हुँदै आएको इमेज लोक कलाकार रियालिटी सोमा पाल्पाकी अञ्जना सारु मगरले उपाधि जितेकी छिन्।

४ सयभन्दा बढी प्रतिस्पर्धीका बीच चलेको प्रतिस्पर्धाअन्तर्गत सोमबार राजधानीको तारे होटल साँग्रिलामा आयोजित अन्तिम स्पर्धामा विजेता बन्दै मगरले एक लाख रुपियाँसहित ३२ इन्चको एलईडी टिभी, तिर्सना म्युजिकको तर्फबाट अडियो भिडियो, एनटीसीको तर्फबाट फोरजी प्याकलगायतका विभिन्न उपहार प्राप्त गरेकी छिन्। उनी पढाइको सिलसिलामा काठमाडौं आइ उक्त रियालिटी सोमा सहभागी भएकी थिइन्। सोको उत्कृष्ट ५ मा रेश विश्वकर्मा, गीता सेन्चुरी, सुमिन गुरुङ र नरबहादुर राना मगर थिए।

त्यसै गरी स्याङ्जाका नरबहादुर राना मगर पब्लिक च्वाइस अवार्ड विजेता भएका छन्। उनी उत्कृष्ट १० प्रतियोगीलाई खुल्ला गरिएको भोटिङमा सबैभन्दा बढी कूल एक लाख चालिस हजार तीन सय अठासी मत प्राप्त गरेर पब्लिक च्वाइस विजेता बनेका हुन्। उनले ३५ हजार नगदसहित विभिन्न उपहार प्राप्त गरेका छन्।

काठमाडौं पोखरा र धरानलगायतका स्थानमा अडिसन गरी देशभरिका नयाँ प्रतिभाहरुलाई लिएर इमेज च्यानलले ६ महिनादेखि रियालिटी सो सञ्चालन गर्दै आएको थियो। लोकलयका विभिन्न गीतहरुमा प्रतिस्पर्धा गराउँदै २६ भागभन्दा बढी एपिसोड पार गरेपछि मात्र विजेता घोषणा गरिएको हो। रियालिटी सोमा मीरा राणा, तारा थापा, कविता आले, तुलसी पराजुली, नारायण रायमाझी, तेजेन्द्र गुरुङलगायतका गायक गायिका निर्णँयक रहेका थिए। इमेज टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका कार्यक्रममा कार्यक्रममा निर्णायक र सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले आफूलाई पहिलेखि नै गीतसंगीतमा रुचि भएको र त्यसमा पनि लोक गीतसंगीत र लोक कलाकारलाई राष्ट्रियस्तरमा कसरी लाने भन्ने सोचिरहेका बेला यो प्रतियोगीता एउटा शुरूआत मात्र भएको चर्चा गरे। ‘देशभरिका कलाकारहरुलाई ३⁄४ ठाउँबाट अडिसनमार्फत काठमाडौं ल्यायाँै। जसका लागि जजहरुले निकै मेहनत गर्नुभएको छ आगामी वर्ष योभन्दा राम्रो कार्यक्रम गर्न सकियोस भन्ने चाहना छ –उनले भने।

त्यसै गरी नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा सिने मासिक कामना र राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले गीतसंगीत भनेपछि हुरुक्कै हुने आफूलाई कार्यक्रमले पुरानो दिनको याद दिलाएको बताए। ‘२२⁄२३ वर्षको उमेरमा गीतसंगीत र चलचित्र क्षेत्रको उत्थान गर्दै प्रोत्साहन गर्नुपर्छ भन्ने सोचले कामना पत्रिकाको प्रकाशन शुरू गरेको थिएँ।

त्यसबेला केही मानिसहरुले यस्तो पत्रिका कसले पढ्छ र भनेर हतोत्साहितसमेत गर्न खोजेका थिए श्रेष्ठले स्मरण गर्दै भने ‘तर पछिल्लो समयमा पत्रपत्रिका, टेलिभिजन र रेडियोजस्ता सम्पूर्ण मिडियाहरुले कलालाई प्रोत्साहन गरेकाको देख्दा खुसी लागेको छ। उनले लोक कलाकारहरुलाई प्रोत्साहन गर्न इमेज च्यानलले यस प्रकारको कार्यक्रम गरेकोमा पनि हर्ष प्रकट गरे।

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाले लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि यो एउटा राम्रो कार्यक्रम भएको चर्चा गरे।

अन्तिम स्पर्धाका लागि कार्यक्रमस्थलमा मौलिकप्रकारको मञ्च निर्माण गरिएको थियो। खरले छाएको मौलिक नेपाली घर, रातो माटो र कमेरो पोतिएको भित्ता, पालीमुनि तनासिमा झुण्डाइएको मकैको झुत्ता र लालटिनले साँच्चै रोधीघरको झलल्को मेटाएको थियो। नेपाली संस्कृति झल्काउने स्टेजमा लहरै नेपाली पोशाक र बाजासहित पिंढीमा बसेका कलाकार तथा बाद्यबादकहरुको प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो भने पशुपति शर्मा र राधिका हमालबीचको कालीपारे दाइ भाकाको दोहोरीले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो। गायिका तारा थापाले २०३५ सालमा रेकर्ड भएको क्षेत्र गुरुङको संकलनको आहा कलिलो तामालाई गाएर माहौल जमाएकी थिइन् भने गायक धर्मेन्द्र सेवानले तालको माछी बोलको गीत गाएर मन्त्रमुग्ध बनाएका थिए। त्यसै गरी हास्यव्यंग्य कलाकार मनोज गजुरेलले समसायिक, राजनैतिक र सांगीतिक हँस्यौली प्रस्तुत गरेर दर्शकलाई हसाएका थिए। यसका साथै उत्कृष्ट १० प्रतियोगीहरुले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्