अख्तियारमा गोरखाको करिब ८० उजुरी



सन्तोष अधिकारी, फागुन १०, गोरखा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले विभिन्न शिर्षकमा गोरखाबाट समग्र उजुरीको २ प्रतिशत उजुरी परेको जनाएको छ ।

मंगलबार अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय पोखराले गोरखामा आयोजना गरेको अख्तियार दुरुपयोग नियन्त्रणमा आयोगको भूमीका विषयक अन्तरक्रिया कार्यक्रममा यस बारे जानकारी गराइएको हो । अख्तियारको पोखराको कार्यालयमा क्षेत्रभरी तीन हजार नौ सय १६ वटा उजुरी परेको कार्यालयका उपसचिब विष्णु प्रसाद रेग्मीले जानकारी दिए । ‘पोखराको कार्यालयमा अहिले सम्म ३९१६ वटा उजुरी दर्ता भएका छन्’ रेग्मीले भने ‘त्यस मध्ये गोरखाबाट यसको दुई प्रतिशत अर्थात करिब ८० वटा उजुरी परेको छ ।’

पद दुरुपयोग गरेको, शैक्षित्र छात्रवृत्तिमा भ्रष्टचार गरेको, सार्वजनिक सेवामा घुसखोरी भएको, नक्कली विल बनाएको, कर छल गर्ने गरेको, विभिन्न सरकारी कार्यालयहरुको सेवाका क्रममा भ्रष्टचार हुने गरेको जस्ता उजुरी गोरखाबाट अख्तियारमा परेको बताइएको छ ।

त्यस्तै जिल्लाको दुर्गम भेगमा औषधी समयमा नपुगेको, पुगेका औषधीहरु पनि म्याद नाघेका औषधी पुग्ने गरेको लगायतको विभिन्न विषयगत कार्यालयहरुको सेवा प्रवाह र सेवा लिँदा भोगेका समस्याहरुको बारेमा उजुरी आएको कार्यालयले जनाएको छ । पश्चिमाञ्चलमा अख्तियारको कार्यालयमा कम उजुरी पर्ने जिल्ला मध्ये गोरखा पनि परेको छ । समग्र उजुरीको २१ प्रतिशत कास्कीबाट परेको छ ।

रुपन्देही १९,नवलपरासी १४, बपिलबस्तुबाट ११, तनहुँबाट ५, पर्वतबाट ४, अर्घाखाँचीबाट ५, लम्जुङ्गबाट ३, म्याग्दीबाट ३, स्याङ्जाबाट ४, पाल्पा बाट ३, वाग्लुङबाट ४, गुल्मीबाट २, गोरखाबाट पनि २, मनाङबाट १, र मुस्ताङबाट २ प्रतिशत उजुरी परेको रेग्मीले जानकारी दिए ।

क्षेत्र भरी आएको उजुरी मध्ये ३१४२ वटा मुद्धा फस्र्यौट भइसकेको रेग्मीले बताए । ७७४ वटा उजुरी हरु भने कोही विचारधिन र कोही हेर्नै बाँकी रहेको मुद्धाहरु छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, गाविस सचिबहरु लगायतको उपस्थिती रहेको थियो  ।

 

प्रतिक्रिया दिनुहोस्