आगोमा नाचेर खली खाने परम्परा



पुष्कर बुढाथाकी

भक्तपुर,(नेस) ।
कुल पुजा र पितृको उद्धार नभए परिवारमा दुख र अनिष्ट हुन्छ भन्ने मान्यताका साथ भक्तपुरमा आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्परा रहेको छ । धामी गुरुले बायु उतार्ने बिधिद्धारा मानिसको शरिरमा महिनासम्म कुल र पितृ डाकेर कुलपुजा गरेपछि पुजा सम्पन्न गर्न आगोमा उफ्रनुपर्ने परम्परा रहेको छ ।

आगोमा नाचेर भोग लगाएपछि खली हाल्ने परम्परा अनुरुप भक्तपुरका क्षेत्री समुदायका राउतहरुले सयौं भारी दाउराको चाँङ बनाएर आगो बाली कोइलामाथि नाचेर परम्परालाई निरन्तरता दिए । आगोको कोइलामाथि नाचेर खली कोइला पूर्ण रुपमा निभाएपछि बायु उतारिएको मानिन्छ ।

भक्तपुरको सिरुटारस्थित राउतटोलमा कुलको बायु उर्तान ७ बर्षका बालकदेखि ८५ वर्षका बृद्धसम्म सोमबार राती आगोमा खाली खुट्टाले नाचेर बायु उतार्ने परम्परामा सहभागि भए । कुलपुजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डांग्रे अर्थात धामी भन्ने गरिन्छ । उनीहरुले आफ्ना कुल बिन्द्धबासिनी, बाह्रभान्जा, शैक्षेत्रपालको पुजा गरि खली खाएका हुन् ।

कुलभित्रका कोही ब्यक्तिले आत्महत्या गरे वा अकाल मृत्यु भएमा कुलभित्र अशान्ति र अनिष्ट हुने भएकाले आगोमा नाचेर बायु उतारे कुलका सबैलाई शान्ति मिल्ने डांग्रे हरिशरण राउतले बताउनुभयो ।

खली परम्पराले कुल गोत्रमा शान्तीको वातावरण कायम हुने भएकाले परम्पराको निरन्तरता हुनुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्