सूचना विभागलाई प्रविधिमैत्री बनाइनुपर्ने



काठमाडौँ, १० फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औँल्याउनुभएको छ ।

सूचना विभागको आव २०७२÷७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन–२०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी छ भन्नुभयो ।

हालको विभागको कार्यलाई क्रमशः गाउँपालिकास्तरसम्म पु¥याई जनतालाई सूचनाको हकको सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै विभागलाई सूचनाको केन्द्रका रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री कार्कीले हुलाक सेवा विभागलाई प्रभावकारी बनाउन रेडियोको दर्ता, लाइसेन्स, फ्रिक्वेन्सी वितरण र नवीकरणको जिम्मा जिल्ला हुलाकलाई दिइने तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विभागलाई नेपाल सरकारबाट भएका निर्णयको एकै ठाउँबाट सबैलाई सूचना प्राप्त हुनेगरी सूचना केन्द्रका रुपमा स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

“विभिन्न मन्त्रालयले विभिन्न नीतिगत काम गरिरहेका हुन्छन्, नयाँ पुस्तिका निकालेका हुन्छन् ती कुरा मन्त्रालयबाट वितरण हुन्छ, सबै सूचना विभागबाटै वितरण गर्न सकियो भने सरोकारवालालाई सहज हुन्छ” उहाँले भन्नुभयो ।

विभागका महानिर्देशक वीरबहादुर राईले विभागको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विभागको सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाई एकीकृत ढङ्गले सेवा प्रवाह गर्न जरुरी भएको धारणा राख्नुभयो ।

सूचना व्यवस्थापन र पत्रिका अभिलेखीकरणलाई चुनौतीका रुपमा लिँदै विभागले सरकारका विभिन्न निकायमा छरिएर रहेका सूचनालाई एकीकृत रुपमा सङ्कलन, प्रशोधन तथा सम्प्रेषण, सूचनालाई कम्युटराइज्ड गरी सूचना वितरण गर्न लागेको जनाएको छ ।

विभागको वार्षिक प्रतिवेदनानुसार आव २०७२÷७३ सम्म जम्मा सात हजार ३६९ पत्रपत्रिका दर्ता भएका छन् । दर्ता भएका कुल पत्रिकामध्ये दैनिक ६७६, साप्ताहिक दुई हजार आठ सय तीन र मासिक दुई हजार २१४ छन् । विकास क्षेत्रगत रुपमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रमा पाँच हजार छ सय ३८ र सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा दुई सय ४० पत्रिका दर्ता भएका छन् ।

विभागले आव २०७२÷७३ मा पत्रपत्रिका स्थायी दर्ता सिफारिस एक सय र अस्थायी दर्ता तथा नाम सिफारिस चार सय ९३ गरेको छ । उक्त आवमा स्वदेशी ९नयाँ जारी दुई हजार तीन सय १९, स्वदेशी नवीकरण दुई हजार चार सय ८० तथा विदेशी ९नयाँ र नवीकरण० ३७ पत्रकार परिचयपत्र वितरण भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्