जनयुद्ध र धनयुद्ध, जनवाद र धनवाद



फणीन्द्र फुयाल ज्वाला
तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि देशमा सशस्त्र जनयुद्धको थालनी गर्यो। जनयुद्धका नायकहरूले संविधानसभाको निर्वाचन गर्ने, राजतन्त्रको अन्त्य गर्ने, समाजवाद र साम्यवाद लागू गर्ने भन्दै सिन्धुलीको सिन्धुलीगढी, गोरखाको साना किसान बैंक र रोल्पाबाट एकैसाथ युद्धको शंखघोष गरे।

प्रचण्डले नेतृत्व गरेको पार्टीले योजनाअनुसार नै देशका सबै जिल्ला र क्षेत्रहरूमा पार्टी र युद्धको नीति लागू गर्दै गए। आफूहरूको नीति नमान्नेहरूलाई पार्टीका कार्यकर्ताहरूले सफाया पनि गरे। पार्टीका कार्यकर्ताहरूले फटाहा, सामन्ती, शोषक, दलाल, घूसखोरीहरूमध्ये कसैलाई सम्झाए, कसैलाई भाटे कारबाही गरे। त्यस्तै कसैलाई कान समात्न लाएर उठबस गराए त कसैलाई चौतारो निर्माण गर्न लगाए। कसैलाई कुलो सोर्ने, कसैलाई बाँध निर्माण गर्ने, बाटो सफा गर्ने आदि काम लगाएर ‘जनकारबाही’ गरे। त्यति बेला पार्टीभित्र निकै अनुशासन थियो। कार्यकर्ताहरू ‘चेन अफ कमान्ड’मा चल्थे। पार्टीेले त्यति बेला दशैं, तिहारलगायतका पर्वहरूको कुनै पनि वैज्ञानिक तर्क नभएकाले ती मनाउनुको कुनै पनि तात्विक अर्थ नरहेको बताउने गथ्र्यो।

जनयुद्धका बेला कार्यकर्ताहरूमा व्यक्तिगत लोभ, मोह, छल, कपट, स्वार्थ, केही पनि थिएन। थियो त केवल देश र जनताप्रतिको माया। जनयुद्धका बेला प्रशिक्षित कार्यकर्ता र नेताहरू जनताको बीचमा पुगेर आफ्नो प्रिय नेता क. माओले भन्ने गरेका, माओले गर्ने गरेका कुराहरू जनतालाई सुनाउँथे र त्यस्तै हुनुपर्ने अर्तिसमेत दिन्थे। आफूहरू पनि माओकै पथमा हिँडेको हुनाले माओवादलाई अँगाल्ने प्रण गर्थे ती
भूमिगत कार्यकर्ताहरू।

तर भनाइ र गराइमा फरक पर्दो रहेछ। हेर्नुहोस् त आजका माओवादीहरू कस्ता भए ? उनीहरू त्यति बेला जनवादको कुरा गर्दा ‘जनैवाद’को विरोध गर्थे, जनयुद्धको कुरा गर्दा ‘धनयुद्ध’को विरोध गर्थे। उनीहरू सबैलाई माओवादी हुन आग्रह गर्दै संगठन बनाउन जनताको झुपडीमा पुग्दा ‘खाओवाद’ को जनकारबाही गर्थे। तर आज के देखिँदै छ ? समाजवाद र साम्यवादको नारा उराल्दै हिँड्ने माओवादीहरू आज आफैंभित्र रुमलिएको छ। हिजोको एकढिक्का माओवादी आज चार–पाँच टुक्रामा विभक्त बनेको छ। आजका माओवादीहरू चेन अफ कमान्डलाई लात मार्दे झुन्ड–झुन्डमा, गुट–गुटमा विलय भएको छ। आजका माओवादीहरूको व्यवहार हिजाको पञ्चेभन्दा कुनै कमी छैन। आजको माओवादमा सिद्धान्त एकातार भए पनि गुण्डागर्दी छ, सुरा–सुन्दरी ताक्नेहरू छन्, डनवाद, धनवाद, ठेकेदारी प्रथा, कमिसन तन्त्र, भाँडभैलो छ।

भड्किलो, उत्ताउलोपनको विरोध गर्ने हिजोका माओवादीहरू आज तीज मनाउने निहुँमा महँगा पार्टी प्यालेसहरूमा एक महिनाअगाडिदेखि महँगा साडी, चोला र गरगहना प्रदर्शन गर्दै दर खाइरहेछन्। सामूहिकतामा बस्ने र व्यक्तिगत धन–सम्पत्ति पार्टीकरण गर्ने ‘जनकम्युन’हरू आज बजारका बीचमा महल ठड्याउने होडबाजी गरिरहेछ। नातावाद र कृपावादमा आजको माओवादी चुर्लुम्म डुबेको छ। श्रीमती, छोरा, छोरी, साला, साली, भन्जा, भान्जी, ज्वाइँ, जेठानलाई जागिर लगाउन आजको माओवादी दामको बिटो बोकेर मालिकहरूसँग जदौ गर्दै पुग्छ।

युग र सयम परिवर्तन गर्छु भन्थ्यो नेपालको माओवादी तर आज समयले नै माओवादीलाई परिवर्तन गरेको छ। हिजो जनयुद्धमा ज्यानको आहूती दिनेहरूलाई आज पार्टीले बिर्सिएको छ। शहादत भएको दिनको स्मरण गर्दै पार्टी कार्यालयमा रहेको शहीदको फोटोमा एक थु·ा फूल र एक चिम्टी अबिर लगाएर शहीद दिवस मानाइँदै छ। आजको माओवादी परम्परागत चाडपर्वहरू मनाउने होडबाजीमा छ। हिजो तिनै पर्वहरू मनाउनुको सार्थकता र वैज्ञानिकीकरण थिएन, तर आज एकाएक त्यसको सार्थकता देखेको छ। हिजो दशैँको टीकाको विरोध गर्ने माओवादी आज दशैँमा छिमेकीको भन्दा ठूलो खसी काट्ने होडबाजीमा छ।

आजको माओवादीलाई कार्यकर्ता संरक्षणको कुनै चिन्ता छैन। किनकि उसलाई थाहा छ, चुनावको बेला डनहरू पार्टीमा भित्रिन्छन्। पार्टीमा लामो समयदेखि योगदान र त्याग गरेकाहरूको अवहेलना भएको छ। शहीद परिवारलाई साँझ–बिहान छाक टार्ने चिन्ताले पिरोलेको छ तर नेताहरू आज शहीदका परिवार नचिन्ने भएका छन्। यो यथार्थ हो। हिजो बोर्डिङ स्कुलको विरोध गर्नेहरू आज जिल्ला र राजधानीका महँगा स्कुलमा छोराछोरी पढाउने होडबाजीमा छन्। आजका नवमाओवादीहरूलाई लाग्दो हो, शिक्षा जस्तो भए पनि महँगा निजी विद्यालयहरूमा छोराछोरी पढाएपछि गुणस्तरीयता पाइन्छ। हिजो आफ्नो व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्नेहरू किन आज फेरि सम्पत्तिको होडमा लागेका छन् ? लाग्छ, उनीहरूले हिजो आवेगमा आएर ‘गलत निर्णय’ गरे होलान्, अनि आज आत्मग्लानि भएको छ। हिजोको क्रान्ति र योगदान सबै आवेगमा आएर गरिएको गलत काम थियो, शायद यही सोच्दै होला सत्तामा पुगेको नेपालको माओवादी।

पूर्वएकता केन्द्रका नेताहरू माओवादी अब कोमामा रहेको बिरामीजस्तै भैसकेका कारण यसको मृत्युको घोषणा गर्न मात्र बाँकी रहेको भनिरहेका छन्। उनीहरूको भनाइ के छ भने, अब माओवादी पार्टी प्रचण्डको तेतृत्वमा चल्दैन। जनताले पनि यति बेला त्यो कुरा महसुस गर्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस्