उत्तर कोरियाबाट मलेसियाली राजदूत फिर्ता



क्वालालम्पुर, (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाको विमानस्थलमा मृत्यु भएको विषयलाई लिएर उठेको विवादका कारण सोमबार मलेसियाली सरकारले कूटनीतिक पहललाई तीव्रता दिएको सरकारी सूत्रले जनाएको छ।

गत साता राजधानी क्वालालम्पुरस्थित विमानस्थलमा नामको रहस्यमय ढंगले मृत्यु भएको थियो।

मलेसियाली प्रहरीले नामलाई विष खुवाएर मारेको शंका गरेको छ। मलेसियाले हिजो प्योङयाङस्थित आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई नामको निधनबारे दिएको प्रतिक्रियाका लागि स्पष्टीकरण माग गरेको छ।

क्वालालम्पुरका लागि उत्तर कोरियाका राजदूत काङ चोलले पत्रकारहरूलाई मलेसियाली प्रहरीको अनुसन्धानप्रति आफूलाई विश्वास नभएको बताएका थिए। यसैबीच मलेसियाली प्रहरीले उक्त मृत्युको सम्बन्धमा चौथो उत्तर कोरियाली नागरिकको व्यापक खोजीकार्य जारी रहेको बताएको छ।

काङ चोलले किम जोङ उन उर्फ किम चोलको मृत्युलाई राजनीतिक रङ दिइएको आरोप पनि लगाएका छन्। तर, मलेसियाली प्रधानमन्त्रीले आफ्ना प्रहरीको वकालत गर्दै उत्तर कोरियाले मलेसियाली कानुनलाई बुझ्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्