करिब ६ खर्ब पुग्यो वैदेशिक व्यापार



हेमन्त जोशी, काडमाडौं

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ५ खर्ब ९८ अर्ब ७३ करोड रुपियाँबराबरको वैदेशिक व्यापार भएको छ। देशका १५ वटा मुख्य नाकाबाट ५ खर्ब ५६ अर्ब ६१ करोड बराबरको सामान आयात भएको हो भने ४२ अर्ब १२ करोड रुपियाँबराबरको मात्रै निर्यात भएको भन्सार विभागले जनाएको छ।
चालू आर्थिक वर्षको यस अवधिमा कुल निर्यातको अनुपातमा आयात १३ दशमलव २ गुणा बढी देखिएको छ। जुन अनुपात अघिल्लो वर्षको भन्दा ९ दशमलब ६ प्रतिशत रहेको थियो। त्यस्तै कुल वैदेशिक व्यापारमध्ये ९३ प्रतिशत आयात भएको छ भने ७ प्रतिशतमात्र निर्यात भएको छ।

चालू आर्थिक वर्षको यस अवधिसम्म भन्सार प्रशासनले मुल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क करमार्फत करिब १ खर्ब ४८ अर्व ८० करोड रुपियाँबराबरको राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिसम्ममा संकलन भएको राजस्वभन्दा चालू आर्थिक वर्षमा २ खर्ब १० अर्ब ४८ करोड बढी राजस्व संकलन भएको विभागले जनाएको छ।

देशको सबैभन्दा ठूलो नाका वीरगन्जबाट मात्र १ खर्ब १४ अर्ब २९ करोड बराबरको आयात भएको छ भने १ अर्ब ६५ करोड बराबरको निर्यात भएको छ। जुन कुल व्यापारको आयातमा ३३ दशमलब ६ प्रतिशत र निर्यातमा २० दशमलब ९ प्रतिशत हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६६ अर्ब ९० करोड रुपियाँबराबर आयात भएको छ भने १२ अर्ब ३६ करोड रुपियाँबराबरको निर्यात भएको छ। त्यस्तै जलेश्वर, जनकपुर र सिराहाबाट भने निर्यात शून्य देखिएको छ।
नेपालले यस अवधिमा भारतसँगमात्रै करिब ६५ प्रतिशत वैदेशिक व्यापार गरेको छ। भारतसँग नेपालले माघ मसान्तसम्म ३ खर्ब ८८ अर्ब ७७ करोड रुपियाँबराबरको व्यापार गरेको छ। जसमा भारतसँगको व्यापारघाटा ३ खर्ब ४० अर्ब ६२ करोडभन्दा बढी छ। चीनसँग ९६ अर्ब ९५ करोड ११ लाख वैदेशिक व्यापार रहेकोमा व्यापारघाटा ९४ अर्ब ८९ करोड ६० लाख रहेको छ। युएई नेपालसंँग वैदेशिक व्यापार गर्ने तेस्रो मुलुक बनेको छ। १७ अर्ब ८६ करोड ५९ लाख रुपियाँबराबरको दुई देश बीचको व्यापारमा नेपालको व्यापारघाटा १७ अर्ब ७३ करोड ७६ लाख रुपियाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्