रक्तसञ्चारलाई यूके समाजको सहयोग



नेपाल समाचारपत्र
गुल्मी
गुल्मी समाज यूकेले जिल्लाका दुई संस्थालाई आर्थिक सहयोग गरेको छ। समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी र आशा अपांग केन्द्रलाई सहयोग गरेको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीलाई ९ लाख र आशा अपांग केन्द्रलाई ३ लाख गरी नगद १२ लाख आर्थिक सहयोग गरेको समाजले जनाएको छ।

सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष राम गलामीले रेडक्रस शाखा सभापति अनुपकुमार श्रेष्ठ र केन्द्रका उपाध्यक्ष गंगा रायमाझीलाई सहयोग हस्तान्तरण गरे। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वाचनले यूकेमा बसोबास गर्ने गुल्मेलीहरूले जिल्लाको सामाजिक विकासका लागि देखाएको सक्रियताको प्रशंसा गरिन्। राज्यको एक्लो प्रयासले मात्र समाज विकास सम्भव नहुने भएकाले सबै मिलेर मात्र अघि बढ्नुपर्छ भन्ने सन्देश सहयोगी संस्था यूके समाजले सिकाएको उनले बताइन्।

सहयोग प्रदान गर्ने गुल्मी जिल्ला यूके समाजका अध्यक्ष राम गलामीले जिल्लाका सबै सरोकारवालाको सहयोगले नै यो सम्भव भएको प्रतिक्रिया दिए। उनले आफूहरू पनि प्रवासमा कुनै न कुनै व्यवसायमा रहेकाले समय जोहो र खर्च कटौतीले जिल्लाका थुप्रै काममा सहयोग गर्न सकिएको बताए। साथै आगामी दिनमा पनि प्राथमिकताका आधारमा जिल्लाको सामाजिक विकासमा आफूहरूको सहयोग जारी रहने गलामीले बताए।

यसैबीच जिल्लामा रगत अभावका कारण कैयौं बिरामीको ज्यान गएको छ। कुनै ठूलो दुर्घटना भए वा आपत्कालीन अवस्था आए रगत तत्काल चाहिन्छ।
रक्तसञ्चार केन्द्रको अभावमा बिरामीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यतालाई हटाउन नेपाल रेडक्रस सोसाइटीले भर्खर रक्तसञ्चार केन्द्रको स्थापना गरेको छ। जसलाई प्रभावकारी बनाउन जिल्लामा जन्मिएर प्रवासमा बस्ने नेपालीले सम्भव तुल्याएका छन्। १ लाख रुपियाँ सहयोग गरेर रक्तसञ्चार केन्द्र स्थापनाको शुरुआत गुल्मी सेवा समाज बहाराइनले गरेको थियो। त्यो अभियानलाई सफल बनाउन आइतबार गुल्मी सेवा समाज यूकेले ९ लाख प्रदान गरेको छ। भोलिका दिनमा पनि यो केन्द्रको विकासका लागि थुप्रै सहयोग गर्ने प्रतिबद्धता यूके समाजका अध्यक्ष राम गलामीले व्यक्त गरे। साथै गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले पनि संसद् विकास कोषबाट नगद १० लाख रक्तसञ्चार केन्द्रका लागि प्रदान गरेका छन्।

रेडक्रस सोसाइटीलाई यूके समाजले तीनबटा एम्बुलेन्स प्रदान गरेको छ। त्यस्तै जिल्लाका अपांगको अभिभावक मानिने आशा अपांग केन्द्रलाई पनि समाजले सहयोग गर्दै आएको छ। समाजकै सहयोगमा आशा अपांग केन्द्रमा एउटा एम्बुलेन्स सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्