मृगौलापीडित किशोरलाई कतारबाट ८० हजार सहयोग



नेपाल समाचारपत्र
लमजुङ
लमजुङका मृगौलापीडित एक १६ वर्षीय किशोरलाई कतारमा रहेका प्रवासीहरूबाट संकलित ८० हजार रुपियाँ प्राप्त भएको छ। लमजुङको नेटा गाविस–३, थानसिङ नेटाका निवासी मृगौलापीडित सिजन खत्रीको उपचारका लागि उक्त सहयोग प्राप्त भएको हो।

नेटा गाविस प्रवासी सेवा समाजको सक्रियतामा संकलन भएको सो रकम प्रमुख जिल्ला अधिकारी मोहन जिसीमार्फत् पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। समाजका अध्यक्ष कल्याण थापाले जिल्लाका सञ्चारकर्मीसमेतलाई राखेर सो रकम प्रजिअ जिसीमार्फत् हस्तान्तरण गरिएको हो। प्रवासीबाट प्राप्त सो रकम प्रजिअ जिसीले मृगौलापीडित सिजन र उनकी आमा पुनम खत्रीलाई हस्तान्तरण गर्नुभएको हो।

प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिमा सेवा गर्ने सोचका साथ सेवा समाज स्थापना गरेको र सोही समाजको अगुवाइमा संकलन भएको रकम पीडित परिवारलाई सहयोग गरेको अध्यक्ष थापाले बताए। यसअघि पीडित खत्रीका लागि अमेरिकाबाट १ लाख २८ हजार रुपियाँभन्दा बढी रकम सहयोग प्राप्त भएको थियो। विभिन्न स्थान र व्यक्तिबाट थप सहयोग आउने क्रम जारी रहेको छ। रकम ग्रहण गर्दै मृगौलापीडित सिजनकी आमा पुनमले सहयोग दाता सबैलाई धन्यावाद दिनुभएको छ।

बेंसीसहरको जनविकास मावि कक्षा ८ मा पढ्दै आएका सिजनको काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। छोराको उपचारका लागि पुनमले ६ लाख रुपियाँ बढी खर्च गरिसकेको बताउनुभएको छ। सिजन उनको परिवारका एक्ला छोरा हुन् भने उनका बुबा अर्जुनको पनि गत वर्ष मृगौलामा खराबीकै कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्