स्वास्थ्यकर्मीद्वारा जनस्वास्थ्य कार्यालयमा तालाबन्दी



नेपाल समाचारपत्र
गुल्मी
स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै जिल्लाका स्वास्थ्यकर्मीले जिल्ला जनस्वास्थ्य कार्यालयमा ताला लगाएका छन्। केन्द्रीय संयुक्त ट्रेड युनियनको निर्देशित कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरू जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरी धर्ना बसेका हुन्। उनीहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत् अविलम्ब समस्या समाधानको माग गरेका छन्। उनीहरूले समस्या समाधानमा यथाशीघ्र पहल गरिदिन जिल्लास्थित सबै राजनैतिक दल, कर्मचारी ट्रेड युनियन, नागरिक समाज, पत्रकार, संघसंस्था, एवं सम्पूर्ण सरोकारवालालाई अपिल गरेका छन्।

विज्ञप्तिमार्फत् ८ फागुनदेखि अनिश्चित्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको कामकाज ठप्प गर्ने र धर्नामा बस्ने संयुक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत् स्वास्थ्य मन्त्रालयमा पठाउने, प्रत्येक दिन कोणसभा गर्ने, जिल्लास्थित पेसागत संघसंस्था, राजनैतिक दलसँग समन्वय गर्ने, स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने, १२ फागुनमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानाकारी गराउने, १५ फागुनमा स्वास्थ्यकर्मीबाट प्लेकार्डसहित जुलुस प्रदर्शन गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन्। आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन गुल्मीले एक्यबद्धता जनाएका छन्।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले जिल्ला प्रसासन कार्यालयमार्फत् स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। उनीहरूले संयुक्त ज्ञापनपत्रमार्फत् अविलम्ब समस्या समाधानको माग गरेका छन्। नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन गुल्मीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानामार्फत् स्वास्थ्यमन्त्री गगन थापालाई ज्ञापनपत्र पठाएका हुन्।

प्रतिक्रिया दिनुहोस्