थापा विजयी



काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी एकता महाधिवेशनले अध्यक्षमा कमल थापालाई निर्वाचित गरेको छ। निकटतम प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई भारी मतले पराजित गरी थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो। सोमबार सम्पन्न अध्यक्ष पदको निर्वाचनमा थापा २ हजार ८ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको हो।

कुल ३ हजार १ सय ३६ मत खसेकोमा राणाले २ सय ५१ मत प्राप्त गर्नुभएको थियो।

८१ मत बदर भएको थियो। केन्द्रीय सदस्यका लागि मतदान प्रक्रिया भने आज मंगलबार बिहानदेखि मात्र शुरु हुने भएको छ। केन्द्रीय सदस्यको मतदानका लागि विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ। अध्यक्षका लागि भने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थिएन। अध्यक्षको निर्वाचन ढिला सकिएपछि निर्वाचन समितिले मतगणना प्रक्रिया शुरु गरेको थियो। निर्वाचन समितिका बाबुराम बस्नेतले जानकारी दिएअनुसार आज हुने केन्द्रीय सदस्यको निर्वाचनमा ६० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ।

राप्रपाका शीर्ष नेताहरूले अध्यक्षमा थापालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने भनी सहमति गरे पनि काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्षसमेत रहेका राणाले उम्मेदवारी दर्ता गरेपछि अध्यक्ष मतदान प्रक्रियाद्वारा छान्नुपरेको थियो। आम कार्यकर्ताको भावना विपरीत शीर्ष चार नेताले अँध्यारो कोठामा गरेको सहमति अमान्य हुने भन्दै राणाले उम्मेदवारी दिएको बताएका थिए।

साँझ अबेरसम्म अध्यक्षका लागि मतदान र मतगणना कार्य भएकाले निर्वाचन समितिले केन्द्रीय सदस्यका लागि मतदान प्रक्रिया आज बिहान ७ बजेदेखि शुरु गर्ने गरी कार्यतालिका बनाएको थियो। कुल १ सय ६३ सदस्यीय कार्यसमिति रहने राप्रपामा ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ।

निर्वाचित हुने ८९ जना केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी सदस्य २३ जना भने अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। २४ सदस्यीय पदाधिकारीमा तीन जना उपाध्यक्ष रहनेछन् भने महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषाध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको छ। पदाधिकारी सबैलाई निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्