१४ राजदूत सिफारिस‘कूटनीतिको उपहास !



काठमाडौं, (नेस)
निर्वाचनको मिति सार्वजनिक गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले सोमबार १४ राजदूत नियुक्तिको सिफारिस गरेको छ। लामो समयदेखि राजदूत रिक्त रहेका विभिन्न १३ मुलुक र नयाँ खुल्न लागेको स्पेनमा समेत राजदूत सिफारिस गरेको हो।

सिफारिसमा नेपाली कांग्रेसका तर्फबाट ६, माओवादीबाट ४, राप्रपाबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना राजदूत परेका छन्। नेपाली कांग्रेसका तर्फबाट अर्जुन जंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, डा. चोपलाल भुसाल बंगलादेश, प्राडा. विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस गरिएका छन्।

मन्त्रिपरिषद्ले माओवादीका तर्फबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, महेन्द्र सिंह साउदी अरेबिया र पद्म सुन्दास बहराइनका लागि राजदूत सिफारिस गरेको छ।

त्यसै गरी राप्रपाका तर्फबाट प्रतिभा राणा जापान, भरतबहादुर रायमाझी स्पेन र निरञ्जन थापा इजरायलसहित फोरम लोकतान्त्रिका तर्फबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस गरिएका छन्।

सरकारले लामो समयपछि राजदूत नियुक्ति प्रक्रिया अघि बढाए पनि सिफारिसमा परेका अधिकांश कूटनीतिक मामिलामा कमजोर रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको ठहर छ। ‘परराष्ट्रले कूटनीतिक योग्यता र क्षमता भएकालाई नै राजदूत छनोट गर्नुपर्छ भनेर पटक–पटक सरकारलाई सुझाव दिएको हो, हाम्रो सुझावमा सरकार गम्भीर देखिएन। मान्छेको चयन हेर्दा कूटनीतिलाई उपहास गरेको देखियो।’ –सो मन्त्रालयका एक उच्च अधिकारीले भने।

कांग्रेस कोटाबाट राजदूत सिफारिस भएका बझाङका सिंह पूर्वपरराष्ट्र राज्यमन्त्री हुन् भने उदास विगतमा योजना आयोगका तर्फबाट गैरआवासीय नेपाली संघ (एनआरएन) लाई समन्वय गर्ने निकाय प्रमुख थिए। प्याकुरेल चिरपरिचित अर्थशास्त्री हुन् भने डा. भुसाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन्।

माओवादी, फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसका तर्फबाट राजदूत सिफारिस गरिएका लामा, पराजुली र कोइराला वैदेशिक रोजगारमा संलग्न रहँदै आएका व्यक्ति हुन् । कोइराला पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङका राजनीतिक सल्लाहकारसमेत हुन्। श्रमिकहरूलाई ठगेको आरोप लाग्दै आएका व्यक्तिलाई नै राजदूत नियुक्त गरिएकामा कूटनीतिक क्षेत्रले आश्चर्य मानेको छ।

माओवादी कोटाबाट डेनमार्कका राजदूत सिफारिस गरिएका लम्साल दि राइजिङ नेपालका पूर्वसम्पादक र सिंह लामो समयसम्म त्रिभुवन विश्वविद्यालयसँग आबद्ध थिए। अघिल्लो सरकार राजदूत सिफारिस भएर नियुक्ति प्रक्रिया रोकिएका धेरैको नाम यसपटक पनि दोहोरिएको छ। विगतमा माओवादी कोटाबाट राजदूत सिफारिस भएका शेर्पा, लम्साल, सिंह, सुन्दास पुनः यसपटक दोहोरिएका छन्। त्यसै गरी राप्रपाबाट थापा र रायमाझीको नाम यसपटक पनि दोहोरिएको छ भने लोकतान्त्रिकले पुनः पराजुलीको नाम दोहोर्याएको छ। पूर्ववर्ती सरकारबाट राप्रपाले नेता थापा र रायमाझीलाई रुस र यूएईका लागि राजदूत सिफारिस गरेको थियो भने त्यो बेला बंगलादेशका लागि राजदूत सिफारिस गरिएका खगेन्द्र बस्नेतको बदलामा यसपटक नेतृ राणालाई सिफारिस गरेको छ। राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू पनि हुनुहुन्छ। सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइ र सम्बद्ध राष्ट्रबाट एग्रिमो लिने प्रक्रिया सकिएपछि राष्ट्रपतिबाट नियुक्ति गरिनेछ।

प्रतिक्रिया दिनुहोस्