मनाङको विजयी शुरूआत



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मनाङ मस्र्याङ्दीले बिजयी शुरूआत गरेको छ।

दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत एमए अजिज रंगशाला चितगोङमा आइतबार भएको समूह चरणको पहिलो खेलमा मनाङले मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै विजयी शुरूआत गरेको हो। मनाङको जितमा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा भने सुधारिएको खेल पस्केको मनाङले खेलको ५३औं मिनेटमा नाइजेरियन ओलावालेको गोलबाट अग्रता लिन सफल भयो। मध्य भागबाट रोहित चन्दले दिएको लामो पासलाई ओलावालले मोहमोलदेननका गोलरक्षक मामुन खान अघि बढेको अवस्थामा बललाई चिप गर्दै गोल गरेका थिए। यस्तै दोस्रो गोल विशाल राईको नाममा रह्यो। उनले रोहितको पासमा खेलको ८७औं मिनेटमा गोल गरेपछि मनाङले २–० नतिजा आत्मसात गरे।

यसअघि ३२औं मिनेटमा साम्सोनको प्रहार गोलपोस्टको फ्रेममा ठोकिदा मनाङले पहिलो हाफमा अग्रता लिनबाट चुकेको थियो। जितसँगै समूह ‘बी’ मा रहेको मनाङले तीन अंक जोडेको छ। पराजित मोहमोदेन भने पुछारमा छ।

जितपछि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पहिलो हाफमा केही गाह्रो भए पनि दोस्रो हाफमा तालमेल मिल्दा जित निकाल्न सकेको बताए। ‘घरेलु मैदानमा घरेलु टिमसँग खेल्दा पहिलो हाफमा केही असहज भयो। तर, दोस्रो हाफमा खेलाडीहरूले आपसमा तालमेल मिलाएर खेल्दा जित निकाल्न सहज भयो।’ प्रशिक्षक छिरिङले भने– ‘पहिलो हाफको तुलनामा दोस्रो हाफमा विपक्षी टिमको डिफेन्स कमजोर भएकाले जित हात पार्न सहज भयो।’ यस्तै कप्तान अनिल गुरुङ पहिलो हाफमा खेलाडीहरूबाीच आपसमा तालमेल नमिल्दा स्कोर ननिस्केपनि दोस्रो हाफमा त्यसलाई सुधार गर्दा जित हात पार्न सफल भएको बताए।‘हामी करिव–करिव सेमिफाइन प्रवेश गरिसकेका छौं।’ कप्तान गुरुङले भने– ‘आइतबार विपक्षी दुवै टिमको खेल पनि हेर्यौं। दोस्रो खेलमा त्यही खेलअनुसार रणनीति बनाएर खेल्ने छौं।’ खेलमा मनाङका ओलावाले ओलाडिपो अफिज म्यान अफ दि म्याच घोषित भए। उनले ५ सय अमेरिकी डलर प्राप्त गरे।

अब नेपालले समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको शाहिम आस्मायीसँग तथा समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग खेल्नेछ। समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्