ट्रम्पको उदय र परिवेश



दामोदर पौडेल

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा डोनान्ड ट्रम्पले विवादका बीच भगवान् र अमेरिकी जनताको नाममा बाइबल छोएर सन् २०१७ जनवरी २० मा शपथ लिएपछि पनि उनी विवादकै घेरामा छन्। दशौं लाख महिला, आप्रवासी मानवअधिकारवादीसमेतले उनको विरोध गरिरहेका छन्। सात मुसल्मान राष्ट्रका नागरिकलाई प्रवेशाज्ञा नदिने उनको घोषणालाई अदालतले अस्वीकार गरिदिएपछि महान्यायाधिवक्ताले उनलाई साथ नदिने बताएकाले उनलाई ट्रम्पले हटाएर नयाँ नियुक्तिसमेत गरे। उनको विरोधको साथै आतंकवादलाई अन्त्य गर्ने घोषणा धेरैको लागि शान्तिपूर्वक बाँच्ने आशाको दीप पनि बनेको छ।

उनलाई आतंकवादसँग लड्न पहिलाभन्दा सजिलो पनि छ। सोभियत रुस कम्युनिस्ट राष्ट्र हंँदा पहिलो सैन्यशक्ति रुस र दोस्रोमा अमेरिका थियो। अब अमेरिका पहिलो र रुस दोस्रो भएको छ। रुस र पूर्वी युरोपबाट शेष विश्वलाई हुने सैन्य खतराबाट बच्नको लागि नै बनेको नेटोको परम्परागत औचित्य रुस र पूर्वी युरोपका कम्युनिस्ट व्यवस्थाको अन्त्यसँगै सकिएको छ।

रुस आतंकवादको विरुद्धमा अमेरिकाको सहयोगी र आफैं अग्रसर देश भएकोले अमेरिकाको वर्तमान लक्ष्यमा रुस विरोधी नभई सहयोगीको रुपमा छ। ट्रम्पको विजयपछि रुससँग अमेरिकाको निकटता बढेको छ। यो आफैंमा आतंकवाद अन्त्यको लागि महत्वपूर्ण हो। अमेरिकी सेनाको स्थायी औचित्य दक्षिण कोरियाबाहेक राजनीतिक कारणले अन्यत्र छैन। त्यसैले अमेरिकी सैन्यशक्ति पूर्णरुपमा आतंकवाद विरुद्धमा केन्द्रित हुन सक्दछ। तर आतंकवादविरुद्धको एकमात्र औषधि सैनिक प्रयोग नै हो भन्ने सोचिए त्यो मूर्खता हुनेछ। यसले ठूलो युद्धसमेत निम्त्याउन सक्छ। सैन्य प्रयोग त तत्काल आतंकित क्रियाकलापलाई रोक्न र निस्तेज पार्नको लागि प्रयोग हुने आपत्कालीन उपाय मात्र हो। स्थायी माध्यम भनेको चेतनाको विकास र गरिबी निवारण नै हो। दक्ष राजनीतिज्ञ हिलारी क्लिटनलाई अनपेक्षितरुपमा हराएर उनले उग्रवादी मुसल्मान संगठनको विरोध गरेकोले अमेरिकी जनताले जिताएजस्तो देखिएकोमा त्यो तथ्य उनले भुलेका छैनन् नै। उनको जीत अमेरिकी जनताको मुसल्मान उग्रवादीविरुद्धको भावना पोख्ने माध्यम थियो जस्तो देखियो।

उनलाई पुलिस्ट राजनीति गर्ने पनि भनिदै छ। तर उनले अमेरिकी जनताको आतंकवादप्रति कस्तो धारणा रहेछ भन्ने जानकारी पनि लिएका रहेछन् भन्ने पनि देखियो। अमेरिकी जनतालाई उचितरुपमा सम्बोधन गर्न सजिलो भयो। पपुलिस्टहरूले विशेषतः डर र जातीयतालाई पनि आधार बनाएर राजनीति गर्दछन् र अरु सकारात्मक काम नगरी जनतालाई मूर्ख बनाएर, भावनामा बगाएर तथा डर देखाएर चुनाव जित्ने माध्यम पनि बन्दछ।

आतंकवादको डर र अमेरिकी जातिको भावनाले उनले चुनाव जिते भन्ने आधारलाई हेर्दा उनले जनताको भावना क्यास गर्न पुगेका हुन्। जनतामा त्यो भावना पहिला नै रहेछ भन्नु सचेत अमेरिकी जनताको लागि उपयुक्त होला। सपथग्रहण भाषणमा उनले हामी अमेरिकीहरू काला, गहुँगोरा र सेता जे भए पनि सवैको रगत रातो छ, मिलेर बस्नुपर्दछ, यो देशलाई प्रगतिमा अगाडि बढाउन अथक् प्रयत्न गर्नुपर्दछ भन्दा उनको उचाइ बढेको जस्तो लाग्दछ। ट्रम्पले भनेजस्तै अमेरिकीहरू आफू सुरक्षित हुनु, छिमेकीको विश्वासमा बाँच्न चाहनु तथा अझ सम्पन्न हुन खोज्नु नराम्रो होइन। उनका विरोधीको भनाइ अमेरिका उदार हुनुपर्दछ भन्ने थियो तर जसप्रति उनी अनुदार छन् वास्तवमा उनीहरूको मूल भएका देश अरब आदिमा अर्को धर्म मान्नेहरू सुरक्षित छैनन् भन्ने देखिएको छ। ट्रम्पले अमेरिकी एक हुनुपर्दछ भन्दा अरुलाई पीडा दिन खोजेको भन्ने अर्थ लगाउनु न्यायपूर्ण हुन सक्दैन। उनले परनिर्भर हुनुहुँदैन भन्दा अरुको विरोध गरेको भन्ने मान्नुहुँदैन। त्यही आधारमा गलत अर्थ लगाउनु समाचारलाई गलतरुपमा बाहिर ल्याउनु र गलतरुपमा प्रचार गर्नु पनि हो।

ट्रम्पले रुससँग मिलेर अगाडि बढ्न सार्थक प्रयास गरेमा विश्वमा लोकतन्त्रलाई बलियो बनाउन, मानवअधिकारको संरक्षण गर्न, गरिबी निवारण गर्न तथा आतंकवादलाई कमजोर पार्न सार्थक योगदान हुनेछ। यो दीर्घकालीन जनचाहना र आवश्यकता पनि हो।

अर्कोतर्फ अमेरिकी जनताको आप्रवासी र मुसल्मानहरूप्रति फरक सोच भएको देखियो। यसमा आप्रवासीसमेतको व्यवहार पनि प्रमुख छ भन्ने सोचेर उनीहरू अमेरिकामा कसरी मेलमिलापपूर्ण वातावरणमा रहने भन्ने सोच्न बाध्य तुल्याएको रुपमा पनि यो चुनावलाई लिन सकिन्छ। ट्रम्प कम परिपक्व राजनीतिज्ञ भएर पनि भावना पोख्ने मौका खोज्नेहरूका लागि अवसर भएका र उनलाई परिस्थितिले साथ दिएको पनि देखिन्छ। उनलाई चुनाव जिताउने कारण आतंकवादको विश्वव्यापी जालो पनि बन्यो, किनभने त्यसको सिकार अमेरिका पनि भएको हो। जनताले ट्रम्पले सुरक्षा दिने सोचे।

अमेरिकी जनताले आतंकवादलाई शान्तिपूर्ण माध्यमबाटै निस्तेज पार्न सकिँदैन र त्यो भ्रमबाट अमेरिकी नेताहरू मुक्त हुनुपर्दछ भन्ने सन्देश पनि दिए। त्यही अमेरिकी नेताको जनताप्रतिको भ्रमको अन्त्य नै चुनावको परिणामको कारण हो। धेरै अमेरिकी नेताहरू जनताको चाहनाका बारेमा भ्रममा रहेछन्। आतंकवादको कारणले जनता त्रसित रहेछन् भन्ने देखियो।

नेपालमा पनि भयरहित वातावरण हुने हो भने जनता जीवनमा आर्थिक परिवर्तन ल्याउन र सुरक्षाको पक्षमा उभिन सक्छन्। जब पर्दा खस्छ त्यति बेला नेताहरूले मञ्चमा बसिरहन हुँदैन। त्यो बुझ्न नसके या नेताहरू पछि पर्दछन्, या देशमा दुर्घटना निम्तन्छ।

प्रतिक्रिया दिनुहोस्