महापुराण जिन्दावाद



देशमा अब चुनाव पनि नहोलाजस्तो भइरहेको छ। त्यसको चिन्ता सायद प्रधानमन्त्री पुकदालाई पनि भइरहेको होला भन्ने धरहरालाई लागेको छ। धरहरा वरपरकाहरू पनि प्रमको अहिलेको अवस्था हेरेर निकै चिन्तित भएको यसले पाएको छ।

यही चिन्तामा विचरा प्रधानमन्त्री हिजो पुराण उद्घाटन गर्न सिरहासम्म हेलिकोप्टर चढेर जानुभयो। प्रधानमन्त्रीलाई त्यो हेलिकोप्टर चढ्न कम्ति मुश्किल पर्यो होला धरहरा अनुमान मात्रै लगाउन सक्छ।

चुनाव गराउने र सहमति जुटाउने हो भने अब प्रधानमन्त्रीले आफ्नो निवासमा नै श्रीमद्भागवत महापुराणको आयोजना गर्नुपर्ने जरुरी देखिएको छ। त्यो पुराणमा सबै दलका नेताहरूलाई बोलाउने। आत्मियता पनि बढ्नेछ। त्यही मौकामा पुराणको प्रसाद खाँदै चुनावको वातावरण बनाउनुपर्दछ। पुराणमा देशी विदेशी सबैलाई बोलाएर त्यही कन्भिन्स गर्नुपर्ला। पुराण हिन्दूको मात्रै हो अरूको होइन भनेर अरू धर्मावलम्बी नआउने हुन् कि भन्ने एउटा डर चाहिं हुन्छ।

तर, त्यसमा पनि मिलाएर केही बेर हिन्दूको पुराण रोकी अरू धर्मका पुराणसमेत भन्न लगाइदिम्। यसो भयो भने मुलुकमा केही हुन्छ कि ? प्रम पुकदाले आँखा चिम्लेर पुराण लाउँदा हुन्छ। पहिला भैंसी पूजा गरेको भनेर केहीले आलोचना गरेपनि आखिर चर्चा यहाँकै भयो क्यारे। राम्रो होस् कि नराम्रो तपाईंलाई चर्चा चाहिएको न हो। गरुम् प्रम ज्यू गरुम्। महापुराण जिन्दावाद। कि कसो पाठकबृन्द।

प्रतिक्रिया दिनुहोस्