स्वास्थ्य कार्यालयमा तालाबन्दी



मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकमा कर्मचारीले अनिश्चित्कालीन तालाबन्दी गरेका छन्। तालाबन्दी सँगै धुलिखेलमा सञ्चालन भइरहेको बालस्वास्थ्य महाशाखाको आईएमएएमको तालिम पनि स्थगित भएको छ।

स्वास्थ्य सेवा ऐन ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनका लागि दबाब दिने उद्देश्यले संयुक्त ट्रेड युनियन संघर्ष समितिले तालाबन्दी गरेको हो। स्वास्थ्य सेवाअन्तर्गत स्वास्थ्यकर्मीको पद व्यवस्थापनका लागि ल्याइएको स्वास्थ्य सेवा ऐन २०७३ को दफा ९ (ख) व्यवस्थापन सम्बन्धमा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनहरू विगत ३ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। आन्दोलनका कार्यक्रमअन्र्तगत २०७३ पुस १२ देखि नियमित आन्दोलनमा छन्।

फागुन ३ गतेदेखि अनिश्चित्कालीन बन्द आह्वान गरेका कर्मचारीले जिल्ला स्वास्थ्य कार्यालयबाट हुने तालिम, बैठक, गोष्ठी तथा सेमिनार र राष्ट्रिय स्तरका कार्यक्रमहरू स्थगित गर्ने, नियमित मासिक प्रतिवेदन तथा रिपोर्टिङ सेन्टरको बैठक रोक्ने, जिल्ला स्वास्थ्य कार्यालयबाट केन्द्रमा रिर्पोटिङ बन्द गरी मूल गेटमै तालाबन्दी गर्ने, संयुक्त ब्यानर तयारी गरी कार्यालय परिसरमा टाँस्ने, जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना शुरू गरी मन्त्रालय केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन सबै संगठनसँग समन्वय गरी उपस्थिति जनाउने, नियमित खोप रेविज भ्याक्सिन, डिओटिस तथा सुत्केरी सेवाबाहेक सबै कार्यक्रम बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम रहेका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष पुरुषोतम तिमल्सिना, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष दुर्गाप्रसाद पोखरेल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघका अध्यक्ष शिवहरि पाठक, स्वास्थ्यकर्मी युनियन नेपालका अध्यक्ष विष्णुप्रसाद गौतम, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष राजदास काफ्ले र नेपाल स्वास्थ्यकर्मी युनियनले आन्दोलन गरेका हुन्। आन्दोलनका कारण जिल्लाका सबै कार्यक्रम प्रभावित भएका छन्। कर्मचारीहरू दिउँसभर सडकमै बसेर आन्दोलन गरिरहेका थिए। यसअघि स्थानीय निकायका कर्मचारीले आन्दोलन गरेका थिए भने गाविस सचिवले पनि भत्तालगायतका विषयमा आन्दोलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्