के हो ठाकुर–राउत कनेक्सन ?



स्वतन्त्र मधेस गठबन्धनको स्थापना गर्दा पनि ठाकुरसँग राउतले छलफल गरेका थिए। राउतले लेखेको ‘मधेसका इतिहास’ पुस्तक लेखनका क्रममा पनि ठाकुरले सहयोग गरेका थिए।

बीपी साह, काठमाडौं
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत जनकपुरधामबाट पछिल्लो समय पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन्। देश टुक्रइउने माग राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो। अर्कातर्फ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि डा. राउतको रिहाइको माग गर्दै आएको छ। मधेसी मोर्चाका नेताहरूले बेलाबेलामा राउतको विरोध पनि गर्छन् र राउत अप्ठेरोमा परेको बेलामा भने पक्राउ गर्नु हुँदैनथ्यो भनेर पनि भन्छन्। आखिर यिनीहरूबीचको कनेक्सन के हो त?

प्राप्त तथ्यअनुसार पहिलो मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ७ गते बलिदानी दिवस मनाइँदै आएको छ। उक्त अवसरमा डा. राउतले सिरहाको लहानमा शक्ति प्रदर्शन गरेका थिए। यतिसम्म कि राउतले आयोजना गरेको कार्यक्रम नजिकै मधेसी मोर्चाले आयोजना गरेको सभा लगभग शून्य थियो। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सभा नै छोडेर हिँडे। त्यसपछि यादवले प्रधानमन्त्रीसँग हुने बैठकहरूमा डा. राउतको गतिविधिको चर्को आलोचना गर्न थालेका हुन्। मधेसका जिल्लाहरूमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईका कार्यकर्तालाई राउतका कार्यकर्ताले मुख्य विपक्षी ठान्ने गरेका छन्।

यता, लहानको कार्यक्रमबाट हौसिएका डा. राउत आफ्नो जनाधार क्षेत्र रहेको रूपन्देही जिल्लाको मर्चवार मजवागामा पनि त्यस्तै शक्ति प्रदर्शनको तयारीमा रहेका थिए।

लहानको उनको कार्यक्रमपछि नै देश टुक्रइउन खोज्नेलाई सरकारले खुलेआम छोडेको भनेर चर्को आलोचना भइरहेको थियो। उनी फागुन ७ गते शनिबार दिउँसो १२ बजे मजगावामा शक्ति प्रदर्शन गर्ने र त्यसपछि लुम्बिनी क्षेत्रमा पनि शक्ति प्रदर्शन गर्ने दाउमा थिए। जहाँ गत शनिबार र आइतबार पनि तनाब भएको थियो। यसैको बीचमा सीकेलाई प्रहरीले पक्राउ गर्यो।

डा. राउतको पक्राउका विषयमा उपेन्द्र यादवसहित मधेसी मोर्चाका शीर्ष नेताहरूसँग गृहमन्त्रीले कुराकानीसमेत गरेको मोर्चाका नेताहरूले बताएका छन्। तर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले डा. राउतलाई पक्राउ गर्न नहुने बताउँदै आएका थिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूमध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई लोकतान्त्रिक चरित्रको मधेसी नेताका रुपमा धेरैले लिन्छन्। उनको विगत नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टीमा बितेका कारण पनि यसरी अनुमान गरिएको हो। तथापि देश टुक्रइउने मामिलामा लागेका राउत र ठाकुरबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतले बताएको छ। स्वतन्त्र मधेस गठबन्धनको स्थापना गर्दा पनि ठाकुरसँग राउतले छलफल गरेका थिए। राउतले लेखेको ‘मधेसका इतिहास’ पुस्तक लेखनका क्रममा पनि ठाकुरले सहयोग गरेका थिए। स्रोतहरू भन्छन्– ‘पछिल्लो समय पनि राउतले ठाकुरलाई निकै सम्मान गर्छन्। पक्राउ पर्नुअघि काठमाडौं आउँदा ठाकुरसँग उनले गोप्य रुपमा पटक–पटक छलफल पनि गरेका थिए।’

मधेशसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले डा. राउतलाई निकै नजिकबाट नियाल्दै आएका छन्। कुनै बेला उनी राउतकै एजेन्डामा मधेस जान सक्ने आकलन गर्छन्। तर, मधेस र पहाडको नाममा विभाजन गराएको मन नपराउने मधेसी बुद्धिजीवीको तर्क छ– ‘यो बेकारमा तर्साउने उपाय मात्रै हो। उनीहरूलाई कति जनसमर्थन छ भन्ने कुरा त विगतको चुनावले नै देखिइसकेको छ।’ उता नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको पनि तर्क छ– ‘एक दिनमै कोही वैज्ञानिक आयो भने त्यो मधेसको नेता कसरी हुन सक्छ? हामी यतिका लामो समयसम्म मधेसकै विषयमा राजनीति गर्दै आएका छौं।’

संघीय समाजवादी फोरम नेपालका सहमहासचिव अभिशेष प्रताप शाहले भने खुलेरै राउतको समर्थन गर्दै आएका छन्। त्यस्तै, फोरमकै महासचिव रामसहाय प्रसाद यादव, लालबाबु राउतलगायतका नेताहरू राउतप्रति सहानुभूति राख्छन्। तमलोपाका जितेन्द्र सोनल र सुरेश मण्डल पनि राउतसँग सहकार्य गरेर मधेसी मोर्चाको विस्तार हुनुपर्ने बताउँदै आएका छन्।

सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता र सहमहासचिव देवेन्द्र यादव मोर्चालाई विस्तार गरी डा. राउतलाई ल्याउने पक्षमा छन्। मोर्चाका शीर्ष नेताहरूले डा. राउतलाई देखाएर सरकारसँग बार्गेनिङ गर्दै आइरहेका छन् भने दोस्रो तहका नेताहरू डा. राउतलाई मोर्चामा ल्याउनुपर्ने बताउँछन्। डा. राउतले पनि मोर्चाका नेताहरूलाई पत्र लेखी संयुक्त मोर्चा बनाउन पटकपटक आग्रह गरेका छन्। हालै महोत्तरीमा भएको राउतको प्रशिक्षणमा मोर्चाका एक दर्जनभन्दा अधिक दोस्रो तहका नेताहरू सहभागी भएका थिए। तर, देश नै टुक्रइउने कुरा गर्नुलाई मधेसमा कसैले पनि सकारात्मक रूपमा लिएको पाइँदैन।

प्रतिक्रिया दिनुहोस्