पाकिस्तानमा शृंखलाबद्ध विस्फोटमा १ सय १ को मृत्यु



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन्। ती विस्फोटनमा कम्तीमा १ सय १ जनाको मृत्यु भएको छ भने अरू ३ सय जनाभन्दा बढी घाइते भएका छन्। यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तीमा ७५ जनाको मृत्यु भएको छ। यस घटनामा अन्य २ सय जना घाइते भएको प्रहरीले जनाएको छ। पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको हो।
प्रहरीले युवा आत्मघाती बम आक्रमणकारीहरूले गराएको यो विस्फोट वर्षकै सवैभन्दा बढी भयावह भएको बताएका छन्। उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुनेमध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिएका छन्।

केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। सेहवान र नजिकका अन्य सहरहरूमा संकटकालको घोषणा गरीएको छ। यसै गरी गम्भिर घाइतेहरूलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लाल शाहवाज कालन्दर मस्जिदमा गतःबिहीबार दिउँसो नमाज पढ्दै गरेका सिया समुदायका सुफी भक्तजनको भीडमा एकजना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराएका थिए।

अन्तरर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले सिया समुदायका मुस्लिमलाई सखापै पार्ने योजनाअनुरूप सो घटना गराएको दाबी गरेको छ।
घटनापश्चात् पाकिस्तानी सुरक्षाकर्मी तत्कालै परिचालित भई आतंककारीको तीब्र खोजी कार्यमा जुटेका थिए।

यसैबीच सुरक्षाकर्मीले आशंकित विभिन्न स्थानमा रातभरि छापा मारी शुक्रबार बिहान सिन्धका केही वासिन्दासहित ४७ जना संदिग्ध सशस्त्र आतंककारीलाई नियन्त्रणमा लिइएको एकजना सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा बताएका छन्।

विगत केही वर्षदेखि पाकिस्तानी सेना र सुरक्षाकर्मीले सशस्त्र बिद्रोही तथा आतंककारीको खोजी र नियन्त्रणका लागि थुप्रै अपरेसन सञ्चालन गर्दै आइरहेका छन्।

यसैबीच, संदिग्ध आतंककारी लुकेर अखाडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानमा कम्तीमा उनान्चालीस जना संदिग्ध सशस्त्र आतंककारीले ज्यान गुमाएका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्