कविराज नेपाल, पाल्पा
हामी सबैले सिमेन्ट, बालुवा र छडको प्रयोग गरी नयाँ र आधुनिक प्रविधि प्रयोग गरी घर बनाउन चाहन्छौं, यसो नभए वा नसके गाउँघरमै पाइने माटो, ढुंगा र जस्तापाताको घर बनाउने प्रचलन छ। आधुनिकताले के शहर के गाउँ सबैतिर छोएको छ तर भिन्न विशेषता र मौलिकता बोकेका अनि नेपालीपन र सामाजिक सांस्कृतिक पहिचान बोक्ने परम्परागत कुँडुल अथात् घुमाउने वा गोलघरको संरक्षणमा ध्यान दिँदैनौं। पाल्पामा पनि ठीक यस्तै भएको छ। पहिचान बोकेका यस्ता घर बिस्तारै लोप हुने संघारतिर पुगेका छन्। गाउँमा कहींकतै यस्ता घर देखिए पनि अब विस्तारै यो कुरा एकादेशको कथाजस्तै बन्न पुग्ने अवस्थातिर देखिन्छ।

आधुनिकताको नक्कल अनि नयाँ पुस्ताले यसको संरक्षणमा वास्ता नगर्नुलगायतका करण यी घर लोप हुन थालेका हुन्। गर्मीका बेला चिसो र जाडोका बेला शीतलता प्रदान गर्ने परम्परागत रूपमा निर्मित कुँडुलेघर जिल्लामा पछिल्लो समय बिरलै देखिने गर्छन्। एक दशकअघिसम्म पूर्वी पाल्पाका अधिकांश गाउँमा यस्ता घरहरू छ्यापछ्याप्ती देख्न सकिन्थ्यो तर आधुनिकताको मारमा परेर अधिकांश कँुडुलेघर लोप हुन थालेको स्थानीय बासिन्दाको भनाइ छ। घर बनाउने कला भएका बूढापाकाको संख्या कम हुँदै जानु, नयाँ पुस्ताले कुँडुलेघर बनाउने कला सिक्न वास्ता नगर्नु र यस्ता घरको महत्त्व नबुझ्दा यस्ता कुडँुलेघरहरू लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्।

पाल्पा परम्परादेखि नै मगर समुदायको बाहुल्य भएको जिल्ला भएको र यो समुदायले बनाएको कुँडुलेघर स्वास्थ्यको दृष्टिकोणले र भूकम्पीय जोखिमबाट बच्न अत्यन्तै उपयुक्त मानिन्छ। भूकम्पबाट बच्नलाई समेत सानो र हलुका सामग्रीको प्रयोगले यस्ता घरहरू उपयुक्त मानिन्छन् तर यस्ता घरहरू दिनानुदिन भत्किने क्रम बढेको छ। कँुडुलेघर एक⁄दुई वर्षमा एकपटक खरले छाउनुपर्ने, लिपपोत गर्न गाह्रो हुने भएकाले युवाहरूले यस्तो घर बनाउने सीप सिक्न नमानेको झिरुबास–८, का दिलबहादुर बयम्बुले बताउनुभयो।

उहाँका अनुसार कम खर्चमा कुँडुलेघर बनाउन सकिने भए पनि धेरै खर्च गरेर भए पनि आधुनिक टिनले र ढुंगा माटो र सिमेन्टको प्रयोग गरिएको घरहरू बनाउने क्रम तीव्र भएको छ। ‘अहिले गाउँमा अधिकांशको पुरानो कुँडुलेघर भत्काएर नयाँ आधुनिक बनाउने क्रम बढेको छ, केही वर्षमै यस्ता घर देख्न समेत नपाइने भो’ –बयम्बुले गुनासो गर्नुभयो।

पूर्वी पाल्पाका, सिलुवा, झिरुबास, अर्चले, बाकामलाङ, ताँहु, मित्याल, बहादुरपुर, वीरकोटलगायतका गाविसमा १०⁄१५ वर्ष पहिले बाक्लै कँुडुलेघर देख्न सकिन्थ्यो। अहिले गाउँगाउँका युवाहरूसमेत विदेश जान थालेपछि पुरा नो कँुडुलेघरको स्थानमा आधुनिक टिनले छाएको र सिमेन्टले ढलान भएका घरहरू बनाउन थालेको मित्यालका स्थानीय वीरबहादुर सुनारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पछिल्लो दश वर्षभित्रमा कुँडुलेघर थप भएका छैनन् बरु मासिएका छन्, संरक्षणमा कसैको ध्यान गएको छैन।’

दश वर्ष पहिले मगर समुदायको अधिकांशको घरमा गोलो–गोलो देख्न सकिन्थ्यो, अहिले कता–कता मात्र छन् यो पनि भत्किने क्रममा छन्, बाकामलाङ–६, का दिलबहादुर थापाले भन्नुभयो। उहाँले अब बाँकी भएका गोलोघरहरू पर्यटकहरूलाई आकर्षण गर्नका लागि भए पनि संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

LEAVE A REPLY