रुकुमका अपांगहरू आन्दोलनमा



नेपाल समाचारपत्र
रुकुम
फूहरूलाई राज्यका निकायबाट उपेक्षा गरिएको भन्दै रुकुमका अपांगहरू आन्दोलनमा उत्रिएका छन्। आफूहरूलाई राज्यको नीति निर्माण गर्ने तहबाट नै बेवास्ता हुने गरेको उनीहरूको दुःखेसो छ। अपांग पुनः उत्थान विकास केन्द्र रुकुमको अगुवाइमा रुकुमका अपांगहरू सडकमा आएका हुन्। विशेष गरी जिल्ला प्रशासन, जिल्ला विकास समिति, सरकारी वकिल, जिल्ला स्वास्थ्य कार्यालय र महिला तथा बालबालिका कार्यालयलगायतका विभिन्न सरकारी कार्यालयलाई आफूहरूले ध्यानाकर्षण गराएको बताएका छन्।

जिल्लाका विभिन्न सरकारी कार्यालयले नै जिल्लामा रहेका सम्पूर्ण अपांगको काममा ढिलासुस्ती गर्ने गरेको तथा अपांगहरूको संवेशदनशील विषयमा जवाफदेही नरहेकै कारण सम्बन्धित निकायसमक्ष आफ्ना मागहरू पूरा गर्न अनुरोध गरेका छन्। नेपालको संविधानमा अपांगता समावेशीकरणको प्रस्ट व्यवस्था भएको भए तापनि रुकुम जिल्लाका अपांगहरूले आफ्ना सबै हकअधिकार सहज रूपमा लिन नसकेको महसुस गरेका छन्।

उनीहरूले जिल्लाका विभिन्न विद्यालयहरूले अपांग विद्यार्थीहरूबाट परीक्षा दस्तुर तथा भर्ना रकम लिने गरेको र हरेक उपभोक्ता समितिमा पनि अपांग समावेशी नभएको आरोप लगाएका छन्। यस्तै जिल्लाको सार्वजनिक यातायातको क्रममा अपांगलाई उपलब्ध गरिएको ५० प्रतिशत छुट भाडा कार्यान्वयन नगरिएको र अपांग आरक्षण सिटको व्यवस्थासमेत नभएको गुणासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्