विश्वका नायक छान्न मतदान



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरको हाँडीखोला–७, मसिनेको पशुपतिनाथ माविको चौरमा शुक्रबार बिहानदेखि किला गाड्ने र डोरी टाँग्ने काम भइरहेको देखेर स्थानीयले उत्सुकतापूर्वक चासो दिइरहेका थिए। ‘आज स्कुलमा के हुँदै छ ?’ भनेर प्रश्न गर्ने अभिभावकको जिज्ञासा जब मतदान शुरू भयो, त्यसपछि मात्र मेटियो।
कक्षा ४ देखि १० सम्मका करिब ३ सय ५० बालबालिका लाइनमा उभिएर पालैपालो मतदान गर्न अघि बढे। विद्यालयका शिक्षकले दिएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी मतपत्र बाकसमा खसाल्दै उनीहरू मतदानस्थलबाट बाहिरिए। मतदान गरिसकेपछि शिक्षकले हरेक मतदाता विद्यार्थीलाई एक पुरिया बिस्कुट हातमा थमाउँदै बिदा गरे।

पशुपतिनाथका बालबालिकाले मतदान गरेको उम्मेदवार भने सबै विदेशी नागरिक हुन्। बालबालिकाका लागि क्रियाशील रहेका जर्मनीका रोजी गोलम्यान, अफ्रिकन नेता म्यानुएल रोड्रिगेस र एसियन मोली मिल्किङ चुनावी मैदानमा छन्। बालबालिकालाई मन परेका तीनै उम्मेदवारले ग्लोबल भोटिङ पाएका हुन्। मतपेटिकामा ग्लोबल भोटिङ फर अल चिल्ड्रेन लेखिएको थियो।

२० वर्षदेखि स्थानीय निर्वाचन नभएको भए पनि पशुपतिनाथ मावि हाँडीखोलाका बालबालिकाले विगतमा पनि यसै गरी आमनिर्वाचनको झल्को दिने गरी मतदान गरेका थिए। बालअधिकारका क्षेत्रमा क्रियाशील व्यक्तित्वबारे कक्षामा विद्यार्थीसँग एक दिन छलफल गरेर मतदान प्रक्रियामा सहभागी गराइएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए।

माइती नेपालको सहयोगमा विद्यालयमा बालअधिकारका लागि ग्लोबल भोटिङ गराइएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन्। नामटारको वासुकी आधारभूत विद्यालय र पशुपतिनाथ माविमा एकसाथ मतदान गरिएको हो। बालबालिकाको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अन्तर्राष्ट्रिय समुदायमा पुरस्कारस्वरूप ग्लोबल भोटिङले सम्मान गर्ने माइती नेपाल संयोजक लामाले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्