अमेरिकी पूर्वनौसेना प्रमुखद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद अस्वीकार



अमेरिका, ६ फागुन । अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिनुभएको थियो ।

हावार्डले आफ्नो पारिवारिक र वित्तीय प्रतिबद्धतालाई कारण देखाउँदै उक्त पद अस्वीकार गर्नुभएको हो ।

यद्यपि अमेरिकी टेलिभिजन सीएनएन र पोलिटिकोले बिहीबार यसबारे समाचार दिँदै नियुक्तिप्रति हावार्ड बेखुशी हुनाको कारण अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्भन्दा ट्रम्पका राजनीतिक सल्लाहकारहरु नीति निर्माणमा हाबी हुनसक्ने देखेपछि पद अस्वीकार गरेको जनाएका थिए ।

सीएनएनको विज्ञप्तिमा हावार्डले राजनीतिक सल्लाहकारको हाबी हुने देखिएपछि पद नस्वीकारेको जनाएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्