सरकारी अस्पतालमा सर्वसाधरणलाई आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको छ –मन्त्री थापा



पुष्कर बुढाथोकी, भक्तपुर ।
स्वास्थ्य मन्त्री गगन थापाले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको बिहीबार साँझ उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुबिधा सम्पन्न बनाउने तयारी भैरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा बिस्तार गर्दै नागरिकलाई स्वईच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको छ ।

’स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरीरहेको बताउँदै उहाँले अहिलेको बजार मूल्य भन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधी पुर्याउन पहल भैरहेको बताउनुभयो ।

नेपाल मै पहिलो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा केन्द्रले ठूलो उपलब्धि हासिल गरेको बताउदै उहाँले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।कानुनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सातवटा अंग दान दिन तथा लिन मिल्ने व्यबस्था भईसकेको चर्चा गर्दै मन्त्री थापाले त्यसका लागि आमनागरिकमा जनचेतना जगाउनु आवश्यक भएको औल्याउनुभयो । केन्द्रलाई स्थान अभाब भएको सन्दर्भमा नेपाल ट्रष्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री थापाले बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारेपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु समेटिएको २ वटा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको स्थापनाले केन्द्र प्राबिधिक रुपमा आत्मनिर्भर भएको बताउनुभयो ।नेपालमै पहिलो पटक उच्च स्तरको मोडुलर ओ.टी.को स्थापना भएको बताउँदै डा श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला मिलेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र केन्द्रका डा.मोहनदेब भण्डारीले केन्द्रले अंग प्रत्यारोपण संगै अरु सेवा पनि विस्तार गर्दै लगेको बताउनुभयो ।कार्यक्रममा भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा.प्रकाशराज न्यौपाने,भक्तपुर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्का,नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्