स्ववियु निर्वाचनको प्रक्रिया फागुन ११ गतेदेखि सुरु



काठमाडौं, ६ फागुन । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

उहाँले अब नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन कार्यतालिका अनुसार सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गते देखि सुरु हुँदैछ । सो दिन निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ ।

रजिस्ट्रार उप्रेतीले निर्वाचन कार्यतालिका सुरु भएका क्याम्पसमा पहिलेकै प्रक्रिया मान्दै बाँकी नयाँ कार्यतालिकानुसार बढ्ने बताउनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) लगायत केही विद्यार्थी सङ्गठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्