पशु सेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा



शिवहरि प्रसाद भट्टराई, राजविराज ।

पशु सेवा केन्द्र अधिकांश समय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । सप्तरीको बोदे वरसाईन स्थित पशु सेवा केन्द्रको कार्यालय बढि समय बन्द रहँदा बिरामी परेका पशु चौपायाको उपचारमा समस्या पर्ने गरेको गुनासो स्थानीयहरुले गरेका छन् ।

सेवा केन्द्रका प्रमुख कार्यालय खोलेर नवसी अन्यत्रै बस्ने गरेको र खोलेपनि पुरा अवधि कार्यालयमा समय नदिने गरेका कारण सेवाग्राहीहरुले समस्या भोग्नु परेको अरुण कुमार यादवको गुनासो रहेको छ । उक्त केन्द्रमा प्राविधिक अर्जुन यादवले नै केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।

उनले पशु सेवा केन्द्र नाम मात्रको र सेवा सन्तोष जनक नभएको बताए । यस्तै भनाई वरसाईन ४ का इद मोहम्मद अलि समेतको रहेको छ । गाविसका अधिकांश जनताको ब्यवसाय खेती र पशुपालन नै भएपनि पशु चौपाया विरामी पर्दा उपचार गर्न समस्या भईरहेको उनले बताए ।

पशु चौपाया उपचार केन्द्रको साईन बोर्ड देखिएपनि कार्यालयमा कर्मचारी नभेटिदा साईन बोर्ड हेरेरै चित्त वुझाउनु परेको इद मोहम्मदले दुखेसो पोखे ।

कोठा भाडामा लिएर स्थापना गरिएको केन्द्र हाल बजारको पश्चिमपटि गोरु हाट नजिकैसर्ने गरी नयाँ कार्यालय वनेको भएपनि त्याहाँबाट पनि सेवा सुचारु नभएको गाउँलेहरुले जानकारी दिएका छन् । ‘केन्द्रको साईन बोर्ड पुरानै ठाउँमा छ’ एक स्थानीयले भने–‘नयाँ घरमा जाँदा पनि कोहि भेटिदैनन्।’ यसबारे केन्द्र प्रमुख अर्जुन यादवले भने आफुलाई देउरी, काचन, रामनगर, मौवाहा वेलही, मलहनीयाँ फुलकाही गाविस समेतको जिम्मेवारी रहेका कारण पुरा समय कार्यालयमा बस्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्