बार्यन र रियल क्वाटरफाइनलतिर अग्रसर



लन्डन, (एजेन्सी)
यूएफा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सानदार जित हात पारेर बायर्न म्युनिख र रियल मेड्रिडले क्वाटरफाइनलतिर एक पाइला चालेका छन्।
बुधबार राति भएको खेलमा बायर्न म्युनिखले आर्सेनललाई ५–१ ले हराउँदा रियल मेड्रिडले नेपोलीलाई ३–१ ले पराजित गर्यो। बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि आर्सेनलको च्याम्पियन्स लिग यात्रा फेरि एकपटक अन्तिम १६ मै रोकिने संभावना बढ्यो। बायर्नका लागि भने यो फराकिलो जितले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने बलियो संभावना बनेको छ।

म्युनिखको घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले खेलको ११औं मिनेटमा आर्यन रोबेनको गोलबाट शुरूआती अग्रता लिएको थियो। तर ३०औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि पहिलो हाफसम्म दुवै टोली १–१ को स्थितिमा रहे।

दोस्रो हाफमा भने बायर्नले खेलमा बलियो पकड बनाउँदै थप चार गोल गर्यो। घरेलु टोलीका लागि ५३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले तेस्रो गोल गरे। यस्तै खेलको ५६औं र ६३औं मिनेटमा थिएगोले दुई गोल गर्दै बायर्नको गोलसंख्या चार पुर्याए। यस्तै निर्धारित ९० मिनेट सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मुलरले गोल गरेपछि बार्यन म्युनिख ५–१ को फराकिलो गोल अन्तरले विजयी बन्यो।

बुधबार राति नै भएको अर्को खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टइउँदै रियल मेड्रिडले इटालियन सिरी ‘ए’ क्लब नेपोलीलाई ३–१ ले हराएको थियो। रियलको घरेलु मैदान सान्टियागो बर्नबेयुमा भएको खेलमा नेपोलीले खेलको आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो।

तर उक्त अग्रतालाई खेलको १८औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल गर्दै तोडे। यस्तै खेलको ४९औं मिनेटमा टोनी क्रुजले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। दोस्रो गोल गरेको ५ मिनेट नबित्दै कासिमेरोले रियलका तर्फबाट तेस्रो गोल थपे। रियलको पनि अन्तिम आठमा पुग्ने आशा बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्