पत्रकारलाई फसाद



‘छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले’ भन्ने उखानको चरितार्थ फुली लगाउन नपाएका एक आईजीले गरेका छन्।

बल्ल बल्ल देउवा दाइको आशीर्वाद पाएर नेपाल प्रहरीको आईजीपीमा बढुवा भए पनि सर्वोच्च अदालतले देउवा दाइको निर्देशनलाई यथास्थितिमा राख्न आदेशदिएपछि मिडिया आफूप्रति ‘बायस’ भएको भन्दै बुधबार आफ्नै निवासमा बोलाएर केहीथान पत्रकारलाई आफ्नो स्तुतिगान गाइदिन आग्रह गर्दै ती आईजीपीले गरेको कुराकानी धरहराको कानमा पनि परिहाल्यो।

उनले वरिष्ठताको आधारमा मात्रै कहाँ सेना प्रहरीका हाकिम नियुक्त हुन्छ भन्दै पत्रकार महोदयलाई भनेछन्। पत्रकारहरू पनि त्यै त हो नि। बेलुकाको समय त्यसमाथि पनि आईजीपीको मेजमान भएपछि छिमेकी देशमा कनिष्ठलाई पनि वरिष्ठ बनाएको भन्ने उपदेश दिएपछि आईजीपी साबले भारतमा कुन कुन सुरक्षा संगठनमा त्यसरी नियुक्त गरेको भन्ने खबरलाई सनसनी बनाउन आदेश दिनुभएपछि पत्रकारलाई पनि फसाद परेछ। भारतमा स्थल सेनामा कुन कनिष्ठलाई प्रमुख नियुक्त गरेको नाम मागेपछि आईजीपी साबको पछि लाग्ने एक अधिकृतलाई फोन गरेर नाम पत्ता लगाउन आदेश दिएपछि ती अधिकृत पनि धरहराको फेदमै बसेर नाम पत्ता लगाउन फोन घुमाउन थालेछन्। धरहराले पनि यसो ध्यान दिएर सुनेको ती अधिकृतले सबै बेलिबिस्तार लगाएर भारतीय सेना प्रमुखको नाम के हो लौन भनिदिनुपर्यो उनी कति नम्बरका मान्छे कसरी सेना प्रमुख भए मलाई चाहियो। उताबाट आवाज आयो यो किन चाहियो। हैन आईजीपी साबले पत्ता लगाउन मलाई आदेश दिनुभएको छ।

एकछिन धरहरा अलमलमा पर्यो। हैन अहिलेको यो जमानामा पनि त्यति नाम खोज्न फोन गर्नुपर्ने कस्ता स्वाँठ अधिकृत होलान्। यसो नेटमा खोज्नु नि उनले चाहेको सबै जानकारी गुगल अंकलले दिइहाल्थे भन्ने धरहरालाई लागेको छ।

प्रतिक्रिया दिनुहोस्