पहाडी भेगको यात्रा जोखिम



डडेल्धुरा जिल्लाको पश्चिमी भागेश्वर गाविसबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको से १ज ८३३ नम्बरको जिप बुधबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको खबर छ। उकालो घुम्तीमा गाडीचालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। डोजर लगाएर रेखाङ्कन मात्र गरिएका अत्यन्तै साँघुरा कच्ची सडकमा यात्रुवाहक गाडी चलाउने गरेकाले पनि पहाडी भेगमा बढी सडक दुर्घटना हुने गरेको पाइन्छ। यसरी पहाडी भेगमा सडक दुर्घटना भइरहँदा पनि प्रभावकारीरुपमा अनुगमन गरी त्यसको न्यूनीकरण गर्नेतर्फ पहल गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान जान सकेको देखिँदैन।

बुधबार भएको दुर्घटनास्थल सदरमुकाम डडेलधुराबाट करिब ७ किलोमिटरको दूरीमा पर्छ। जिप सडकबाट ३ सय मिटर तल खसेको थियो। क्षमताभन्दा बढ्ता यात्रु बोकेर यहाँ जिपहरू सञ्चालन हुँदै आएको समाचार छ। निर्माणाधीन अवस्थामा रहेको बागबजार–बगरकोट सडकमा बाटो खराब भएकै कारण दुर्घटना भएको हुनसक्ने स्थानीयको समेत अनुमान छ। यहाँ मात्र नभएर ग्रामीण क्षेत्रमा आवतजावत गर्ने अधिकांश सडक जोखिमपूर्ण नै छन्।

यस्ता सडकमा बढी नै जोखिम भएकाले यात्रुवाहक गाडी चलाउँदा निगरानी बढाउनुपर्ने हुन्छ। सडकको अवस्थितिबारे जानकारी नहुँदा पनि दुर्घटना हुनसक्छ। स्तरहीन सडक, अपरिपक्व एवम् मापसे गर्ने चालक, ओभर कन्फिडेन्स, सवारीसाधनको अवस्था नाजुक, क्षमताभन्दा बढी भार, अरु सवारीसाधनसँग प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि सडक दुर्घटनाका कारणहरू मानिन्छन्। बढी कमाउने लोभले जस्तोसुकै सडकमा पनि गाडी लान तयार हुनु, अर्काले पो यात्रु टिपिहाल्छ कि भनेर ओभरटेक गर्नु, पेसेन्जर देख्यो कि अटुन्जेल गाडीमा कोच्नुजस्ता प्रवृत्ति पनि सडक दुर्घटनाका कारण हुन्।

त्यस्तै गाडीको अवस्था अत्यन्तै नाजुक भई गुड्नै छोडेपछि मात्र मर्मत गराउने नत्र अहिले चलेकै छ भनेर मर्मतका लागि समय र पैसा खर्च गर्न कन्जुस्याइँ गर्नेहरू पनि होलान्। सडक दुर्घटना न्यून गर्न चालकको ठूलो हात हुन्छ। त्यसैले सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन गरी नियमभन्दा बाहिर गएर सवारीसाधन चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्न पछि हट्नुहुँदैन। यसका साथै सडक सुधारका कार्यलाई पनि निरन्तरता दिनै पर्छ।

प्रतिक्रिया दिनुहोस्