विश्वकै सबैभन्दा ठूलो सी प्लेन उड्न तयार



सिंगापुर, (एजेन्सी)
चीनमा निर्माण भइरहेको विश्वकै सबैभन्दा ठूलो सामुद्रिक विमान अर्थात् सी प्लेन एजी–६०० केही महिनामा नै पहिलो उडान भर्ने चरण पुगको चीनको सरकारी सञ्चार माध्यमले जानकारी दिएको छ। ४ वटा इन्जिन भएको उक्त चिनियाँ विमानको ११ देखि १४ पटक परीक्षण उडान भइसकेको छ। सी प्लेनलाई चीनको दक्षिणी प्रान्त झुहाइमा तयार गरिएको थियो। यो विमानलाई चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना एभीआईसीले निर्माण गरेको हो। एजी–६०० विमान ३७ मिटर लामो र यसको पखेटाको फैलावट ३८ दशमलव ८ मिटर छ। यो पानी र हावा दुवैमा तीव्र गतिमा चल्न सक्छ। यसको आकार वोइङको ७३७ विमानसँग बराबर छ।

उक्त विमानलाई विशेष गरी जंगलमा लाग्ने डढेलो नियन्त्रणका लागि निर्माण गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। यसले ५३ दशमलव ५ टन तौल बोक्न सक्छ। यसले १२ सेकेन्डमा १२ टन पानी संकलन गर्न सक्छ। यो पानी सीधै आगलागी भएको जंगलमा आगो निभाउन फाल्न सकिनेछ। यो बाहेक यसको ५० जना यात्रु बोक्ने क्षमता पनि छ।

उक्त विमानमा प्रमुख डिजाइनर हुआंग लिन्केइले भने– ‘एजी–६०० एउटा पानी जहाज जस्तै हो र यो सजिलै उड्न पनि सक्छ। यसमा हाइटेक प्रविधिको प्रयोग गरिएको छ। यो एभिएसन इन्डस्ट्रीमा चीनको सफलता हो।’

सी प्लेन एजी–६०० निर्माणका लागि सन् २००९ मा अनुमति दिइएको थियो। यसको अधिकतम उडान विस्तार क्षमता ४ हजार ५ सय किलोमिटर रहेको छ। यसको लम्बाइ १ सय २१ फिट र दुई पखेटाको लम्बाइ १२८ फिट छ।

प्रतिक्रिया दिनुहोस्