पतिसँग छुट्टिँदै १७ महिला



हेटौंडा, (नेस)
जिल्लामा हुने घरेलु हिंसाका घटना छलफलबाट मिलापत्र हुने गरेका छन्। घरेलु हिंसाका अधिकांश घटना, गाउँघर तथा प्रहरी चौकीमा मिलापत्र हुने गरेका कारण घरेलु हिंसाका घटना घट्नुको साटो बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

घरेलु हिंसाका घटनामा पीडकलाई कारबाहीभन्दा हिंसामा परेका महिलाले सामाजिक दबाबमा परेर सहमतिमा आउनुपर्ने अवस्था आउने गरेको अधिकारकर्मीको भनाइ छ। घरेलु हिंसाका छलफलमा स्थानीयस्तरबाट दबाब सिर्जना हुने गरेकाले अधिकांश महिला हिंसाका घटनामा मिलापत्रले प्रश्रय पाउँदै आएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आउने गरेका महिला हिंसासम्बन्धी उजुरीमध्ये धेरैजसो मिलापत्रमा सकिने गरेको पाइएको हो। जिल्लामा हुने अधिकांश उजुरी जिल्ला प्रहरी कार्यालयमा पुगे पनि त्यहाँबाट सम्झौतामा सकिने गरेको तथ्यांकले देखाएको छ।

पछिल्लो समय महिलामा महिला हिंसासम्बन्धी जनचेतना बढेका कारण उजुरी धेरै पर्ने गरेका भए पनि प्रायः मुद्दा जिल्ला प्रहरी कार्यलय पुगेर मिलापत्र हुने गरेका छन्। चालू आर्थिक वर्षको ६ महिनामा मकवानपुरका १७ जना घरेलु हिंसापीडित महिला न्यायका लागि अदालती प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षको हालसम्म १ सय १५ जनाले आफूलाई घरेलु हिंसा भएको भन्दै उजुरी दिएकोमा १७ जनाले सम्बन्ध बिच्छेद, अंश वा मानाचामल भराउने गरी छुट्टै बस्ने माग गर्दै अदालतमा मद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वामदेव गौतमले बताए।

गत आर्थिक वर्षमा पनि ३ सय ३४ जना घरेलु हिंसापीडित महिलाको उजुरी परेकोमा ४७ जना अदालती प्रक्रियामा गएका थिए। घरेलु हिंसालाई सामान्य मानिने नेपाली समाजमा पछिल्लो समयमा घरेलु हिंसाविरुद्ध प्रहरीमा उजुरी दिने क्रम बढिरहेको छ। हाल महिलाविरुद्ध हुने घरेलु हिंसा नियन्त्रणका लागि घरेलु हिंसा कसुर तथा सजाय ऐन, २०६१ कार्यान्वयनमा छ।

प्रतिक्रिया दिनुहोस्