पाल्पामा पनि आन्दोलन जारी



पाल्पा, (नेस)
पाँच दिनदेखि जारी स्थानीय निकाय कर्मचारी संघको अगुवाइमा पाल्पामा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमा आन्दोलनका कारण सरकारी कामकाज त प्रभावित भएकै छ यसले अन्य कार्यालयमा पनि प्रभाव पारेको देखिएको छ। गत फागुन १ गतेदेखि तत्काल स्थानीय निकायको निर्वाचन, स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रूपमा समायोजन, क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने, कर्मचारीको सुरक्षा तथा वृत्ति विकास अब हुने स्थानीय तहमा उनीहरूको सम्मानजनक पदस्थापनलगायतका माग राखी आन्दोलन गरेका हुन्।

स्थानीय निकायका कर्मचारीहरूको आन्दोलनका कारण मालपोत कार्यालयमा समेत प्रभाव परेको छ। त्यस्तै कतिपयले स्थानीय निकायबाट हुनुपर्ने काम पूरा गर्न नपाएको बताएका छन्।

नागरिकतालगायतका कामको सिफारिस लिन नपाउँदा नागरिकतासमेत लिन नपाएको सेवाग्राहीको गुनासो छ। गाउँ विकास समिति र नगरपालिकाको सिफारिसविना जग्गा किनबेच नभएका कारण मालपोतमा दैनिक संकलन हुने राजस्वमा कमी आएको छ। कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीले धेरै दिन दुःख पाउन नपरोस् भनी कार्यालय बन्दसम्मको कडा आन्दोलनमा उत्रिनुपरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसन तानसेन एकाइका अध्यक्ष कौशलराज घिमिरेले बताए।

स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण पाल्पामा जिल्ला विकास समितिको कार्यालय, तानसेन नगरपालिका र रामपुर नगरपालिकालगायत जिल्लाका गाउँ विकास समितिमा कामकाज ठप्प भएको छ। जिल्ला सदरमुकाम तानसेनमा गाउँगाउँबाट विभिन्न सेवा लिन आएका आएका सेवाग्राही जिविसमा काम नहुँदा होटलमा बास बस्न बाध्य भएको र यसरी बास बस्दा खर्च सकिएको पूर्वी पाल्पाको वाकामलाङ गाविसका गुनबहादुर थापाले गुनासो गरे।

कर्मचारीको आन्दोलनका कारण जिविस पाल्पाले निकट भविष्यमा नै गर्न लागेको जिल्ला परिषद्को आवश्यक काम गर्न सकेको छैन। जिल्ला परिषद्का लागि इलाकास्तरीय योजना तुर्जमा सकिए पनि त्यसपछिका अन्य कामहरू आन्दोलनका कारण प्रभावित भएका छन्। जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनासमेत आन्दोलनका कारण सम्झौता हुन नसकेको कार्यालयका कर्मचारी बताउँछन्। कर्मचारीले स्थानीय निकायका कार्यालयमा तालाबन्दी गरी बाहिर कुर्सी राखी कार्यालय समय व्यतीत गर्ने गरेका छन्। आन्दोलनमा राखेका मागहरू पूरा नहुञ्जेल कामकाज ठप्प पारिने जिविस कर्मचारी संघका केन्द्रीय सदस्य रामप्रसाद पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्