बैजापुरमा दुईदिने स्वास्थ्य शिविर



नेपाल समाचारपत्र
बाँके
बाँकेको बैजापुरमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको आयोजनामा बैजापुरको धामपुरमा दुईदिने शिविर आयोजना गरिएको हो। बैजापुर, बिनौना, कचनापुर, फत्तेपुर र कुसुम गाविसलाई लक्षित गरी आयोजना गरिएको शिविरको सांसद देवराज भारले उद्घाटन गर्नुभयो।

१ सय ८ वर्षका जेष्ठ नागरिक दलवीर खड्कालाई सेवा कार्ड दिएर सांसद भारले शिविरको उद्घाटन गर्नुभएको थियो। सांसद भारले घरमा आएर दिएको सेवाबाट भरपुर फाइदा लिन स्थानीयलाई आग्रह गर्नुभयो। सोही क्षेत्रबाट निर्वाचित सांसद भारले विशेषज्ञ डाक्टरसहितको शिविरले स्थानीयलाई हर्षित बनाएको बताउनुभयो।

सदरमुकाम नेपालगन्जदेखि टाढा राप्ती नदीपारि पर्ने बैजापुरमा आयोजना गरिएको दुईदिने शिविरले त्यस क्षेत्रका ५ हजार व्यक्ति लाभान्वित हुने क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले बताउनुभयो। क्षेत्रीय निर्देशनालयले वर्षमा एक पटक स्वास्थ्य पहुँचबाट टाढा रहेका गाविसलाई लक्षित गरी शिविर आयोजना गर्ने गर्दछ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले गाउँमा आयोजना गरिने यस्ता शिविरबाट गरिब, असहायले बढी लाभ उठाउन सक्ने बताउनुभयो।

आठ जना विशेषज्ञ डाक्टरको सहभागिता रहेको शिविरमा मानसिक, हाडजोर्नी, नाक, कान, घाँटी, छाला, गाइनो, दाँत, आयुर्वेदिक उपचार सेवा दिइएको छ। शिविरमा नङ काट्नेदेखि हात धुनसमेत सिकाइएको छ। अपांगता भएकालाई वैशाखी दिइएको छ।

शिविरमा जेष्ठ नागरिकको बढी भीड थियो। महिला र बालबालिकाको सहभागिता पनि बढी रहेको छ। बैजापुर गाविस आफैं ठूलो छ। त्यहाँको स्वास्थ्य चौकीकै दैनिक सय हाराहारीका बिरामी आउने गर्दछन्। जिल्ला जनस्वास्थ्य कार्यालयबाट लगेको औषधि सधैं अपुग हुने ठाउँ बैजापुरमा आयोजित शिविरले त्यस क्षेत्रका बासिन्दालाई ठूलो सहयोग मिल्ने जिल्ला जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्