करणी प्रयासमा उन्मुक्ति



पत्रकार सम्मेलनमा आफ्नो कुरा सुनाउँदै बालिकाहरू ।

गोकुल घोरसाइने, बारा
लिका करणी प्रयासमा पक्राउ परेका एक युवकलाई जिल्ला प्रहरी कार्यालयले कानुनी कारबाहीविना रकम लेनदेन गराएर उन्मुक्ति दिएको छ।

जिल्लाको भोडाहा गाविस–१ की स्थानीय विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयास गरेको आरोमा पक्राउ परेका सोही गाविस–८ बस्ने वर्ष २४ का सोनालाल साहलाई प्रहरी कार्यालय महिला तथा बालबालिका सेलका निरीक्षक अरुणप्रसाद कुशवाहले जरिवानास्वरूप ९ लाख २५ हजार रुपियाँ रकम लेनदेनको कपाली तमुसुकमा दुवै पक्षलाई सही गर्न लगाएर उन्मुक्ति दिएका हुन्। पीडित पक्षलाई समेत प्रभावमा पारी नगद सापटी लिएको व्यहोराको तमसुकमा पीडकले १० प्रतिशतका दरले ब्याजसहित उक्त रकम आगामी असार मसान्तभित्र पीडितका अभिभावकलाई भुक्तानी गर्ने उल्लेख छ। करणी प्रयास अभियोगमा पक्राउ परेका साहलाई प्रहरीले एक सातासम्म हिरासतमा राखेर रकम लेनदेनमा कुरा मिलेपछि तमसुक गराएर छोडेको बताइएको छ।

जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गर्न अनुरोध गर्दा पनि प्रहरीले आफूहरूलाई दबाबमा पारेर मिलापत्र गर्न लगाइएको पीडित पक्षको भनाइ छ। प्रहरी निरीक्षक कुशवाहले पीडक पक्षबाट रकम असुली गरेपछि मुद्दा दर्ता गर्न इन्कार गरेको बताइएको छ।

घटनाअनुसार कक्षा ३ मा अध्ययनरत बालिकालाई खेतमा शौच गर्न गएको मौका छोपी गत पुस २२ गते बलात्कार प्रयासमा अपहरण गरी घर नजिकैको मटिअर्वा चोकमा एक्लै छोडेर भागेपछि आफन्तले दिएको जाहेरी आधारमा जिल्ला प्रहरीले माघ ९ मा साहलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरेको थियो।

बालिकाले रोईकराई हल्ला गरेपछि साह भागेको स्थानीयको भनाइ छ। ‘शुरूमा करणी उद्योग अभियोगमा मुद्दा चलाउने बताएको प्रहरीले पछि रकम लिएर मेलमिलाप गर्न पो दबाब दियो’, बालिकाका एक आफन्तले भने– ‘प्रहरी र गाउँका ठूलाबडा भनिएकाले समेत दबाब दिएपछि स्वीकार्न बाध्य हुनुपर्यो।’ स्थानीय महिला सञ्जालकी अध्यक्ष मदिना खातुनले करणी प्रयासमा मुद्दा नचलाउन प्रहरी नै सक्रिय देखिएपछि आफूहरू मौन बस्नुपरेको र दुवै पक्ष मिलापत्र गर्न सहमत देखिएपछि आफूहरू पनि तमसुकमा साक्षी बसेको बताएकी छिन्। उनका अनुसार साह र पीडितका अभिभावकलाई जिल्ला सदरमुकाम कलैया बोलाएर माघ १४ गते कपाली तमसुकमा सही गर्न लगाइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले भने प्रहरीले रकम लेनदेन र पीडितलाई दबाबमा पारेर मुद्दा मिलाइएको अस्वीकार गरे। उनले रकम लेनदेन र दबाबमा मेलमिलाप गराएको भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘मेडिकल रिपोर्टमा करणी नदेखिएपछि बलात्कार अभियोगमा मुद्दा चलाउने अवस्था थिएन’, नायब उपरीक्षक रेग्मीले भने– ‘बाहिर गएर के कति लेनदेन भयो भएन त्यो पनि प्रहरीको जानकारीमा छैन।’ उनले पीडितको पक्षबाट प्रहरीमा कुनै जाहेरी नपरेको र दुवैबीच पहिलेदेखि नै सम्बन्ध रहेको पनि बताए।

यसैबीच मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले बालिका करणी र प्रहरीको मिलेमतोबारे अनुसन्धान गर्न टोली गठन गरेको छ। प्रहरी स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय वीरगजका वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो। टोलीले बिहीबारबाट पीडितका आफन्त, स्थानीय र प्रत्यक्षदर्शी समेतसँग भेटघाट गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने जनाएको छ।

हराएका बालिका फिर्ता
विद्यालयबाट पढेर घर फर्कने क्रममा हराएका बारा सिमराका ४ बालिका ५ दिनपछि घर फर्केका छन्। गत शुक्रबार सिमरा चोकबाट बेपत्ता बनेका स्थानीय सिमरा पब्लिक इङ्लिस स्कुलका कक्षा ५ मा पढ्ने १० वर्षीया स्नेहा सिंह, ११ वर्षीया रविना श्रेष्ठ, जितपुरकी ११ वर्षीया रिया गुप्ता र उनकी ६ वर्षीया बहिनी पिहु गुप्तालाई अभिभावक र शिक्षकले भारतको सितामढीमा फेला पारेपछि मंगलबार राति घर ल्याएका हुन्।

छुट्टीपछि विद्यालयबाट निस्किएका चारै जना साँझ अबेरसम्म घर नफर्किएपछि खोजी भएको थियो। भारतीय प्रहरीसँगको समन्वयमा खोजी शुरू गरेको प्रहरीले शनिबार बिहान सितामढीमा रहेको पत्ता लगाएको हो। यसअघि अपहरणको आशंका गरिए पनि बालिकाहरू आफैं भारत गएको पनि खुल्न आएको छ।

विद्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत् बालिकाहरूले आफूहरू हीरा खोज्ने लहडमा दिल्ली जान थालेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको बताए। विद्यालयमा अध्ययन गर्ने क्रममा एक साथीले दिल्लीको गोलबजार नजिकैको जंगलमा रहेको झरनामा पाइने बताएपछि आफूहरू धनी बन्नका लागि हीरा खोज्न दिल्ली गएको उनीहरूले बताएका थिए।

पत्रकार सम्मेलनमा स्नेहाले कक्षाकोठामै आफूहरू दिल्ली जाने योजना बनाएको सुनाइन्। योजनाअनुसार सिमरा चोकबाट गाडी चढ्ने क्रममा स्नेहा र रविनाले रियासहित उनकी बहिनीलाई भेटेका थिए। रिया विद्यालय छुटेर जितपुर घर जान लागेकी थिइन्। सिमरा चोक पुगेका स्नेहा र रविना पनि रिया चढेकै जिपमा चढे।

गाडीमा उनीहरूले रियालाई वीरगन्जसम्म जाने योजना सुनाए र उनलाई समेत लिएर गए। तर वीरगन्ज पुगेपछि योजना फेरियो र सिमापारि रक्सौलमा रेल हेरेर फर्कने भन्दै चार जना फेरि रिक्सा चढेका थिए। दुई सय रुपियाँ तिरेर रक्सौल पुगेका उनीहरूले यस क्रममा रिक्साचालकलाई समेत झुक्याएका थिए। रेल स्टेसनमा अभिभावक रहेको र आफूहरू विद्यालयको कार्यक्रमबाट फर्किएको भन्दै झुक्याएका उनीहरू स्टेसन पुगेर दरभंगाको रेल चढेका थिए।

रेलमा चढेपछि स्नेहा र रविनाले रियालाई पनि दिल्लीमा हीरा पाइने र चाँडै धनी बन्न सकिने योजना र उनी पनि दिल्ली जान राजी भएकी थिइन्। रेलअघि बढेको केही समयमै पेट दुखेर पिहु रुन थालेपछि अन्य यात्रुले उनीहरूको बारेमा चासो राखेपछि ती बालबालिकाको योजना भताभुंग बन्न पुगेको थियो। सोधपुछमा आफूहरू अपहरणमा परेको भन्दै झूट विवरण दिएपछि रेलका यात्रुले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सितामढीस्थित चाइल्ड हेल्प केयर बुझाएको थियो। इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले वीरगन्जबाट रक्सौल पुर्याउने रिक्सा चालकसँग समेत बयान लिएका छन्।
बयानका क्रममा विद्यार्थीले रिक्साचालकलाई समेत झुट बोलेको खुल्न आएको थियो। प्रहरीमार्फत् हराएका भनिएका बालबालिका हेल्प केयरमा रहेको जानकारी दिएपछि सम्पर्कका लागि अभिभावक र शिक्षक शनिबार नै सितामाढी पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्